आयोजक सहारा क्लबले १२ वर्षपछि मोफसलको प्रतिष्ठित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । पोखरा रंगशालामा शनिबार २५औँ संस्करणको उपाधि भिडन्तमा सहारा क्लबले जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै ट्रफी उचालेको हो । च्याम्पियन बनेको सहाराले १४ लाख एक हजार हात पारेको छ । उपविजेता जावलाखेलले सात लाख एक हजार रुपैयाँ जित्यो । सहाराले अन्तिमपटक २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।
सहारालाई च्याम्पियन बनाउने क्रममा खेलको २५औँ मिनेटमा स्ट्राइकर मुकुन्दकुमार निउरेले १–० को अग्रता दिलाएका थिए । उनले सुशील लामाको कर्नरमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । पहिलो हाफमा सहराले जावलाखेलको डिफेन्स थप तोड्न सकेन ।द्द दोस्रो हाफमा जावलाखेलले सहारालाई पुनः डिफेन्स बलियो बनाउँदै दबाबमा राखेको थियो । तर, खेलको ७३औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियलले हेडिङ गोल गरी २–० को अग्रता दिलाए । खेलमा थप गोल भएन ।
यसअघि सहाराले प्रिक्वार्टर फाइनलमा पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० ले हराएको थियो । सहाराले क्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनायो । फाइनल प्रवेश खेलमा मोसफलको गोल्डकप फुटबल प्रतियोगिताकै सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा हरायो । जावलाखेलले प्रिक्वार्टर फाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० ले पाखा लगाएको थियो । ‘ए’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबमाथि ३–० को जित निकाली सहाराले सेमिफाइनला स्थान पक्का गर्यो । सेमिफाइनलमा पहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबलाई १–० ले पराजित गरी जावलाखेलले सहाराविरुद्धको फाइनल खेल पक्का गर्यो ।
मुकुन्दकुमार उत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे भए । उनले एक थान इलेक्ट्रिक स्कुटर पाएका छन् । यसैगरी, उत्कृष्ट डिफेन्डर सहाराका बादारु घोषित, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका पापा आइबोउ केबे, उदीयमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राइकर जावलाखेलका धर्वेन्द कुँवर र गोलरक्षकमा सहाराका टीकेन्द्र थापा उत्कृष्ट भए । यसैगरी, मिडफिल्डरमा जावलाखेलका बाउबकर सिसिको, प्रशिक्षक सहाराका सुनील रानामगर र ‘फेयर प्ले अवार्ड आभा फुटबल क्लब उज्वेकिस्तानले पाएको आयोजकले जनाएको छ । उनीहरूले जनही २५ हजार रुपैयाँ पाए ।