टोल–टोलमा विकासको गफ, खोलामा यस्तो छ पुलको हालत : ठेक्का लागेको ११ वर्षसम्म पुलको पिलर मात्रै

दुई वर्षमा बनाउनुपर्ने पुल सात वर्षसम्म नबनेपछि ठेक्का तोडियो, तर तोडिएको चार वर्षसम्म पनि आह्वान गरिएन नयाँ ठेक्का

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

स्थानीय शम्भु यादवले भने– अघिल्लो वर्ष बर्खामा रमशिस यादवलाई विषालु सर्पले टोक्यो । एम्बुलेन्स आउन पुल नहुँदा समयमै उपचारका लागि अस्पताल पु¥याउन सकिएन । हेर्दाहेर्दै उनको ज्यान गयो ।

प्रतिनिधिसभा निर्वाचनमा मत माग्दै दल र उम्मेदवार टोल–टोलमा पुगेर विकासको ‘गफ’ हानिरहेका छन् । तर, वर्षौँदेखिका अधुरा आयोजनाले तीन दल र उम्मेदवारलाई गिज्याइरहेका छन् । एउटा ज्वलन्त उदाहरण हो, सप्तरीको राजगढ गाउँपालिका– ६ को मुतनी नदीमा ठेक्का लागेको ११ वर्षसम्म पनि बन्न नसकेको पुल ।

राजगढका बरहादी र बनैनियाँ गाउँ जोड्ने पुल निर्माणका लागि ०७१ मै करसहित दुई करोड ५१ लाख ७० हजारमा ठेक्का लागेको थियो । काठमाडौंको नीलगिरि कन्स्ट्रक्सनले दुई वर्षभित्र अर्थात् ३१ असार ०७३ सम्म पुल तयार पार्ने गरी ठेक्का पाएको थियो । तर, पटक–पटक म्याद थप्दा पनि सात वर्षमा दुईतर्फ पिलर उठाउनेबाहेक काम नगरेपछि सडक डिभिजन कार्यालय लहानले १५ वैशाख ०७८ मा ठेक्का नै रद्द गरेको थियो । २३ मंसिर ०७८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको थियो । त्यसयता पनि चार वर्ष बितिसकेको छ, तर नयाँ ठेक्का लगाइएको छैन ।

सडक डिभिजन कार्यालय, सप्तरीका इन्जिनियर दिलीप साहले नयाँ ठेक्काका लागि स्रोत सुनिश्चितता हुन नसकेको बताए । ‘नीलगिरि कन्स्ट्रक्सनले दुई वर्षमा तयार पार्ने भनेर ठेक्का लिए पनि सात वर्षसम्म दुईतर्फी पिलर उठाउनेबाहेक काम नगरेपछि १५ वैशाख ०७८ मै ठेक्का रद्द गरिएको हो । तर, नयाँ ठेक्का लगाउन सकिएको छैन,’ उनले भने, ‘नयाँ ठेक्का लगाउन स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायमा फाइल पठाइसकेको छु, स्रोत सुनिश्चित भएलगत्तै ठेक्का आह्वान हुन्छ ।’

मुतनी नदीमा पुल नहुँदा स्थानीयका दुःख अनगिन्ती छन् । खासगरी बर्खायाममा बढी समस्या हुन्छ । पुल अभावका कारण समयमै अस्पताल पु¥याउन नसक्दा गत वर्ष बर्खामा सर्पले टोकेका रमशिस यादवको ज्यानै गएको थियो । ‘अघिल्लो वर्ष बर्खामा रमशिस यादवलाई विषालु सर्पले टोक्यो । एम्बुलेन्स आउन पुल नहुँदा समयमै उपचारका लागि अस्पताल पुर्याउन सकिएन । हेर्दाहेर्दै उनको ज्यान गयो,’ स्थानीय शम्भु यादवले भने । 

स्थानीय गणेश सुतिहारको गुनासो पनि उस्तै छ । तर, चुनावका बेला गाउँ आउने उम्मेद्वारले यही पुललाई मुख्य एजेण्डा बनाउने गरेको उनले बताए । ‘गाउँमा कसैलाई सुत्केरी व्याथाले च्याप्दा होस् वा गम्भीर बिरामी पर्दा होस्, खोलामा पुल नहुँदा एम्बुलेन्स आउन सक्दैन,’ उनले भने, ‘तर, चुनावका बेला गाउँमा भोट माग्न आउने हरेक राजनीतिक दलका उम्मेद्वारले भने पुल निर्माणलाई मुख्य एजेण्डा बनाउने गरेका छन् । विगतमा पनि आश्वासन दिएका थिए, तर चुनावपछि फर्किएर आएनन् ।’ 

भारतीय सिमावर्ती क्षेत्रको मुख्य सडक खण्डमा पर्ने यो पुल निर्माण हुन नसक्दा नदी छेवैमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकालाई आवतजावतमै समस्या हुने गरेको छ । ‘वर्षायाममा जिल्लाको दक्षिणी भेगका बासिन्दाका लागि पुलको आवश्यकता निकै खड्किने गरेको छ । खोलापारी नै विद्यालय छन्, बालबालिका आउजाउ गर्दा नदीमा डुब्ने हो कि भन्ने डरले असारदेखि असोजसम्म पढाईबाटै बञ्चित हुने परेको अवस्था छ,’ स्थानीय कपलेश्वर सुतिहारले भने । 

विष्णुपर गाउँपालिका अन्तर्गतको कन्कट्टा र राजगढ गाउँपालिकाअन्तर्गत पर्ने इनरवा, फकिरा, कुरनमा, बरदाही र बनैनियाँसँगै भारतका सीमावर्ती गाउँहरू भरफोडी, अन्धरामन्ठ, डकही, विक्रमशेर, छातापुर, लौकही, महादेवमन्ठलगायत जोड्ने बाटोअन्तर्गत पर्ने मुतनी नदीमा पुल निर्माण नहुँदा यस भेगका सर्वसाधारण दैनिक समस्या झेलिरहेका छन् । पुलका लागि दर्जनौंपटक सडक डिभिजन कार्यालय लहानदेखि काठमाडौंस्म्म धाए पनि सुनुवाई नभएको राजगढ गाउँपालिका– ६ का वडाध्यक्ष महमद ताहिर मंसुरीले बताए । ‘वडाको बजेटले पुल बन्दैन, सम्बन्धित माथिल्ला निकायमा पटक–पटक भन्दा पनि सुनुवाई हुँदैन,’ उनले भने । 

सुझावित समाचार