यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजार ३०७ जना अस्थायी मतदाता रहेका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लामा रहेका दुई अस्थायी मतदानस्थलबाट उक्त संख्याले मतदान गर्नेछन् ।
उनका अनुसार जिल्लामा भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमा अस्थायी मतदानस्थल तोकिएको छ । कानुनी व्यवस्थाअनुसार अस्थायी मतदानस्थलका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । जिल्लको भीमफेदी कारागारमा रहेका ९९५ जना कैदीबन्दीमध्ये जम्मा ७५ जनामात्र मतदाता नामावलीमा सूचीकृत रहेका पनि प्रमुख ढकालले जानकारी दिए । तीमध्ये तीनजना महिला र ७२ जना पुरुष मतदाता रहेको उनको भनाइ छ ।
यस्तै, जिल्लामा निर्वाचन गराउन दुई हजार २४४ कर्मचारी खटिने भएका छन् । मकवानपुरका दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर १ मा एक हजार ६८ कर्मचारी खटाइने भएको छ । जहाँ ६२ मतदानस्थलअन्तर्गत १७८ मतदान केन्द्र रहको छन् । यस्तै, मकवानपुर २ मा १०५ मतदानस्थलअन्तर्गत १९६ मतदान केन्द्रमा एक हजार १७६ कर्मचारी निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि परिचालन गरिनेछ ।
एक मतदान केन्द्रमा न्यूनतम ६ र अधिकतम आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई सोमबारदेखि तालिम दिइनेछ ।
सिद्धार्थ माध्यमिक विद्यालय मतदानस्थलमा महिला मात्रै खटिने
यता हेटौँडा उपमहानगरपालिका– २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा यसपटक सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् ।
ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीसमेत महिला मात्र रहनेछन् । निर्वाचन कार्यालयका अनुसार केन्द्रहरूमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन गरिनेछ । सो मतदानस्थलमा पाँच हजार ४९३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
दुईवटा अस्थायी केन्द्रबाहेक जिल्लाभर १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । जिल्लाका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार जिल्लाभर १६७ मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएका छन् । अतिसंवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा पाँच मतदानस्थल र सात मतदान केन्द्र अतिसंवेदनशील छन् । राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा पाँच मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र, मनहरी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा एक मतदानस्थल र एक मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् ।