फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्थामध्ये एक बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले उद्योगी व्यवसायीहरूको हकहित तथा व्यवसायिक प्रवर्द्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा आईतबार संघमा औपचारिक कार्यक्रम आयोजना गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठसहित निजी तथा सरकारी सेवाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुको तर्फबाट निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो । लाकौल २०६१ देखि २०६३ सम्म संघको अध्यक्ष भएर काम गरेका थिए ।
पूर्वअध्यक्ष लाकौलले संघको श्रीवृद्धि तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक सहित आर्थिक तथा सामाजिक विकासमा पुर्यायाएको योगदानको उच्च मूल्यांकनसहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।
सोही कार्यक्रममा संघले बुटवलका तीनवटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नेछ । अध्यक्ष अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई वृद्धि गरिनेछ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिने छ । त्यसैगरी, संघको औषधि व्यवसायी वस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधि प्रदान गरिनेछ।