लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल गरेकी छिन्।

शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन तयारीको समग्र अवस्थाबारे जानकारी लिएकी हुन्। बैठकमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीबारे ब्रिफिङ लिएकी थिइन्। सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको पहिचान तथा आवश्यक जनशक्ति परिचालनका विषयमा विस्तृत समीक्षा गरिएको जनाइएको छ।

सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले प्रदेशभरको समग्र सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

बैठकले निर्वाचन तयारीलाई थप सुदृढ बनाउन समन्वयात्मक ढंगले अघि बढ्ने निष्कर्ष निकालेको बताइएको छ।

सुझावित समाचार