सन् १९५२ फेब्रुअरी २१ को त्यो रक्तरञ्जित बिहान बंगलादेशको ढाका विश्वविद्यालयका सडक विद्यार्थीका पाइलाले मात्र होइन, एउटा जातिको अस्तित्व र अक्षर जोगाउने रगतले निथ्रुक्क भिजेका थिए । बंगाली भाषालाई राज्यसत्ताले ‘अशुद्ध’ र ‘दोस्रो दर्जा’को छाप लगाएर अपमानित गरेपछि सुरु भएको त्यो भाषिक महासंग्रामले अन्ततः संसारलाई ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’को गौरव दियो । आज संसारले यो दिवस मनाइरहँदा नेपालका १२४ भाषाको गणना र तिनको अस्तित्वको बहस फेरि सतहमा आएको छ ।
यसैबिच, एउटा भयावह मौनताले हाम्रो चेतनालाई गिज्याइरहेको छ । के यो उत्सवले ती काटिएका जिब्राहरूको पनि हिसाब राख्छ ? जसको मातृभाषा कुनै प्रत्यक्ष रणमैदानमा होइन, बरु सभ्यताका सुकिला मञ्चहरू र ‘शुद्धता’का निर्मम कैँचीद्वारा योजनाबद्ध रूपमा रेटियो । के यो उत्सवले ती ओठहरूको चीत्कार सुन्छ ?जसलाई मानकको पर्खालभित्र आफ्नै मौलिक लवज बोल्दा अछुत, गँवार र अशुद्धको उपहास झेल्नुपर्यो ।
हामी मातृभाषालाई ‘आमाको दुध’सँग तुलना गर्छौँ । तर, यो समाजको क्रूरता हेर्नुहोस्– जुन आमाको हातको दुध र पानी चल्दैन भनियो, उनै आमाले बोल्ने शब्द कसरी ‘शुद्ध’ मानिन्थे होलान् र ? भाषा आयोगले तथ्यांकका फाइल पल्टाउँदै गर्दा एउटा प्रश्न सोध्न मन लाग्छ, यदि भाषा नै पहिचानको अन्तिम किल्ला हो भने के एउटा कुनै जातिले आफ्नो भाषा गुमाउनु भनेको बिस्तारै उसको अस्तित्वकै भाषिक नरसंहार होइन ? आयोगको पछिल्लो प्रतिवेदनमा दलित समुदायसँग जोडिएका कतिपय भाषा अति लोपोन्मुख सूचीमा पर्नु वा जनगणनामा कतिपयको संख्या शून्य देखिनु तथ्यांकीय संयोग मात्र होइन, यो त सदियौँदेखि राज्यले चलाएको संरचनागत दमन र ‘आफ्नो लवज लुकाउँदा मात्र सुरक्षित भइन्छ,’ भन्ने मनोवैज्ञानिक त्रासको परिणाम हो ।
नेपालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा भने पनि व्यवहारमा दलितका मौलिक लवजलाई अझै पनि अशुद्धको दर्जामा राखिनु संवैधानिक कपट हो । अब दलित आन्दोलनले आरक्षण र राजनीतिक सिटको मात्र कुरा गरेर पुग्दैन । भाषिक पुनरागमनको विद्रोह सुरु गर्नुपर्छ ।
प्रतिरोधको ‘कोड’ र राज्यविरुद्धको गुप्त संवाद
पहाडी दलितमध्ये गन्धर्व समुदायको भाषिक इतिहास विश्वकै लागि एउटा अनौठो र अध्ययनयोग्य विषय हो । यो समुदायले आफ्नो अस्तित्व रक्षाका लागि एउटा विशिष्ट ‘कोड भाषा’को विकास गरेको थियो । यो भाषा रहरले नभएर, राज्य र तत्कालीन शासकको क्रूर दमनबाट जोगिन जन्मिएको एउटा रक्षात्मक ढाल थियो । जब गन्धर्वहरू थ्यांके (पैसा), झोल (रक्सी), खिउनी (चामल) वा गैँड्या (प्रहरी) भन्थे, त्यो सूचनाको आदानप्रदान मात्र थिएन, शासकको कानले नबुझ्ने गरी बुनिएको एउटा गुप्त युद्धनीति थियो ।
राज्यको जासुसी संयन्त्रले नबुझून् भनेर निर्माण गरिएको यो भाषा वास्तवमा प्रतिरोधको भाषिक व्याकरण थियो । यद्यपि, इतिहासकारले यसलाई अपभ्रंश वा कथित ‘तल्लो जात’को लवज भनेर टिप्पणी गरे । सत्य के हो भने गन्धर्वको कोड भाषा एउटा जीवित प्रमाण हो कि कसरी एउटा उत्पीडित जातिले शब्दहरूलाई हतियार बनाएर आफ्नो अस्तित्व जोगाउँछ । आज ती शब्द हराउँदै जानुलाई ध्वनिको लोप भएको मात्र मान्न सकिँदैन, बरु गन्धर्व जातिको सयौँ वर्षको संघर्षको एउटा बलियो दस्ताबेज खरानी हुनु हो ।
शिल्पको शब्दकोश र बौद्धिक उपनिवेशवाद
नेपाली भाषाको शब्दभण्डार निर्माणमा शिल्पी (दलित) समुदायको योगदानलाई सधैँ शारीरिक श्रमका रूपमा मात्र हेरियो, बौद्धिक योगदानका रूपमा कहिल्यै स्विकारिएन । बागलुङ र पर्वतका विश्वकर्मा बस्तीका आरनहरूमा प्रयोग हुने शब्दावलीहरू वास्तवमा धातु विज्ञानका मौलिक नेपाली शब्द हुन् । फलामको विशिष्ट रापलाई बुझाउन उनीहरूले प्रयोग गर्ने ज्वार (फलाम पग्लिने ताप) वा निभ (आकार दिन मिल्ने नरम ताप) जस्ता शब्दहरू कुनै पनि मानक शब्दकोशमा अटाएनन् ।
कुनै दिन आरनमा पुग्दा एक वृद्ध विश्वकर्मा बाजेले हतियारलाई पाइन दिँदै गर्दा भन्नुभएको थियो, ‘नानी, यो फलामको जात चिन्नुपर्छ, नत्र यसले हामीलाई नै खान्छ ।’ उहाँको त्यो एक वाक्यमा हजारौँ वर्षको शोध लुकेको थियो । दुर्भाग्य, नेपाली बृहत् शब्दकोश पल्टाउँदा यी शब्द कि त भेटिँदैनन्, कि त तिनलाई संकुचित अर्थमा मात्र राखिएको छ । इन्जिनियरिङ पढाउने ठाउँमा यी शब्द किन छैनन् ? असलमा, यो शिल्पमा लुकेको विज्ञानमाथि गरिएको बौद्धिक छुवाछुत हो । फलाम जोड्ने टाँसन वा धातु शुद्ध बनाउने खार्नेजस्ता शब्द उच्चस्तरको वैज्ञानिक ज्ञानका प्रमाण हुन् ।
त्यस्तै, सार्की समुदायले प्रयोग गर्ने खारी (छाला प्रशोधन गर्ने झोल), ओत्कन (आधार) वा जुत्ताको सोल अड्याउने आलजस्ता शब्द प्राविधिक इन्साइक्लोपेडिया हुन् । जुलाहा वा परियार समुदायले प्रयोग गर्ने तानाबाना र लुगाको घान मिलाउने कला गणितीय ज्यामिति र डिजाइनको संगम हो । ज्ञानलाई जातको कसीमा घोटेर ‘अशुद्ध’ घोषणा गरिनु नै नेपाली भाषिक र शैक्षिक इतिहासको सबैभन्दा ठुलो बौद्धिक बेइमानी हो ।
बादी र मधेशी दलित : ‘देह’को भाष्य र हराएको मौलिकता
सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा बादी समुदायको आफ्नै विशिष्ट भाषिक र सांस्कृतिक इतिहास छ । बादी शब्दको व्युत्पत्ति नै ‘वादन’ शब्दबाट भएको हो । तथापि, शासकीय अहंकार र पितृसत्ताले यो समुदायलाई केवल देह व्यापारको संकुचित भाष्यभित्र कैद गरिदियो । परिणामस्वरूप, उनीहरूका मौलिक कला र शब्दावली लोप भए ।
यस्तै अवस्था मधेशमा पनि छ । मुसहर, डोम र चमारहरूले बोल्ने मैथिली वा भोजपुरीलाई ‘मुसहवा मैथिली’ वा ‘चमरौटी’ भन्दै खिसी गरियो । विद्यालयमा जब एउटा मुसहर बालकले आफ्नो घरको लवज बोल्छ, उसलाई शिक्षकबाटै हप्काइन्छ । यो भाषिक नश्लवाद हो । यस्तो हुँदै गर्दा उसले त्यहाँ शब्द मात्र त्याग्दैन, आफ्नो आत्मविश्वास र पुर्खाको इतिहास पनि त्याग्छ ।
संगीतको व्याकरण र धुनको भाषा
दलित समुदायका लागि बाजा र संगीत उनीहरूको सबैभन्दा बलियो मौखिक अभिलेख हो । दमाईं समुदायले बजाउने नौमती र पञ्चैबाजाका प्रत्येक ताल वास्तवमा एउटा अलिखित व्याकरण हुन् । बाजाको एउटा विशेष हान (स्ट्रोक) ले सूचना दिन्थ्यो, जुन शासकको भाषाले कहिल्यै टिप्न सकेन । राज्यले त सहनाई र झ्याम्टाका गुनासोलाई मनोरञ्जनको चस्माले मात्र हेरिदियो । गन्धर्वहरूले गाउने पुराना लयमा एउटा पंक्ति छ, ‘सारंगीको तार रेटेर हामीले पेट पाल्यौँ, तर हाम्रै भाषालाई राज्यले पाखा हाल्यो ।’
आजको विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कब्जामा छ । एआईले संसारका जुनसुकै आवाजको हुबहु नक्कल गर्न सक्ला, गुगल र च्याटजिपिटीले भाषा अनुवाद गरिदेलान्, तर झलकमान गन्धर्वको त्यो स्वरको गहिराइ र आरनको त्यो ‘पाइन’ दिने वेलाको वृद्धको सुस्केरालाई कुन मेसिनले कपी गर्न सक्ला ? झलकमानको स्वर सातवटा सुरको खेल मात्र थिएन, त्यो त हजारौँ वर्षदेखि अपमानित एउटा जातिको सामूहिक भाषिक र सांस्कृतिक चीत्कार थियो, जुन कुनै पनि डिजिटल कीबोर्डमा अटाउँदैन ।
दलित महिलाको भाषा र ‘खलाँ’ राजनीति
दलित महिलाले प्रयोग गर्ने प्रतिरोधको गाली एउटा अध्ययन नगरिएको विधा हो । विश्वकर्मा समुदायमा प्रचलित श्रापहरू जस्तै, ‘मैले पिटेको फलामले तेरो सियो–मुसो नरहोस्’, वास्तवमा अन्यायका विरुद्ध शब्दले बुनिएका भाषिक अस्त्र थिए । दलित महिलाले मेलापात र पँधेरामा प्रयोग गर्ने लवजमा पितृसत्ता र जातिवाद दुवैलाई प्रहार गर्ने विशिष्ट क्षमता हुन्थ्यो । विडम्बना, मानक नेपालीको निर्माण गर्ने क्रममा यी बोलीलाई ‘अश्लील’ वा ‘गँवार’ भनेर निषेध गरियो । काठमाडौँ उपत्यकाका कुचीकार, पोडे र कपाली समुदायले बोल्ने नेवारीलाई खलाँ (खराब) भन्दै उपहास गरिनु पनि यसैको कडी हो ।
संरचनागत हिंसा र भाषिक पुनरागमन
दलितका भाषा र लवजहरू आफैँ लोप भएका होइनन्, यिनलाई त भौगोलिक विस्थापन, लिखित इतिहासको निषेध र ‘एक भाषा, एक भेष’को नीतिद्वारा हराइएको हो । नेपालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा भने पनि व्यवहारमा दलितका मौलिक लवजलाई अझै पनि अशुद्धको दर्जामा राखिनु संवैधानिक कपट हो । अब दलित आन्दोलनले आरक्षण र राजनीतिक सिटको मात्र कुरा गरेर पुग्दैन । भाषिक पुनरागमनको विद्रोह सुरु गर्नुपर्छ । हाम्रा माग अब स्पष्ट र नीतिगत हुनुपर्छ :
-भाषा आयोगले दलितका यी प्राविधिक र वैज्ञानिक शब्दलाई मानक शब्दकोशमा समेट्नुपर्छ । आरन, सिलाइ र चर्म–शिल्पका शब्दहरूलाई ‘तल्लो तहको बोली’ होइन, प्राविधिक शब्दावलीको मान्यता दिनुपर्छ ।
-पाठ्यक्रम विकास केन्द्रले दलितको शिल्प–विज्ञान र भाषिक इतिहासलाई विद्यालयका पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ ।
विद्यार्थीले आफ्नो पुर्खाको भाषा बोल्दा गर्व गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।
-राज्यले लोपोन्मुख दलित भाषाको संरक्षणका लागि विशेष बजेट र भाषिक कोषको व्यवस्था गर्नुपर्छ । दलितका मौखिक इतिहासलाई अभिलेखीकरण गर्न डिजिटल आर्काइभ निर्माण गरिनुपर्छ ।
इतिहासको लेखक बन्ने वेला
वास्तवमा, जब एउटा भाषा मारिन्छ, तब त्यहाँ शब्द मात्र मर्दैनन्, त्यो भाषाले बोकेको हजारौँ वर्षको प्रविधि, दर्शन र प्रतिरोधको स्मृति पनि सँगै चिहानमा गाडिन्छन् । भाषाको मौनता नै जातिको दासताको पहिलो कदम हो । हाम्रा पुर्खाले फलाममा टल्काएको ज्ञान र संगीतमा रेटेको इतिहासलाई आजको ‘मानक नेपाली’ ले कसिंगर देख्छ भने त्यो मानक आफैँमा दृष्टिदोषपूर्ण छ ।
यदि राज्यले हाम्रा शिल्पका शब्द, बाजाका ताल र संघर्षका लवजलाई ‘सभ्यता’ स्वीकार गर्दैन भने उसले गर्ने लोकतन्त्र र समावेशिताको व्याख्या आफैँमा एउटा बौद्धिक छल मात्र हो । मातृभाषा दिवसको उत्सवले तब मात्र सार्थकता पाउँछ, जब काठमाडौंका चिल्ला सडकमा बोलिने नेपाली शब्द र बागलुङको आरनमा गुन्जिने ‘ज्वार’ शब्दले बराबरको नागरिक सम्मान पाउँछन् । दलितको मातृभाषा हराएको होइन, हराइएको हो । तसर्थ, अब त्यसको हिसाब–किताब माग्ने वेला आएको छ ।