सिराहाको लहान नगरपालिका– १०, ग्रामीण चोकबाट प्रहरीले खैरो हिरोइनजस्तो पदार्थ बिक्री–वितरण गरिरहेको अवस्थामा एक युवतीसहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ग्रामीण चोकमा प्रतिबन्धित लागूुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक युवतीसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहाको सुखीपुर नगरपालिका– ८ की करिब २१ वर्षीया पिरतीकुमारी चौधरी, सप्तरीको सुरुंगा नगरपालिका– ५, कुसहाका करिब २४ वर्षीय भगवती चौधरी र अग्निसाइर कृष्णसवरण गाउँपालिका– १, महुलीका करिब १९ वर्षीय शोभित चौधरी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट दुईवटा प्लास्टिककाे पोकामा प्लास्टिकबाहेक तीन ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ, प्र.२ –०१–००१ प ४४०९ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनजनालाई नै शुक्रबार सिराहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।