निर्वाचनका लागि मधेशमा चारवटै सुरक्षा निकायबाट ६० हजारभन्दा बढी प्ररिचालन

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा ६० हजार प्रहरी खटाइने भएको छ ।

मधेशको आठवटै जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ६० हजारभन्दा वढी सुरक्षाकर्मीहरू परिचालन गरिने भएको छ। 

नेपाल प्रहरीले मधेश प्रदेशमा रहेका १० हजार प्रहरी, केन्द्रबाट थप पाँच हजार र २८ हजार निर्वाचन प्रहरी गरी ४३ हजार सुरक्षाकर्मी खटाइने मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले जनकारी दिए। नेपाल प्रहरीले मधेश प्रदेशमा रहेका प्रत्येक निर्वाचन क्षेत्रमा एक प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुईजना प्रहरी निरीक्षक रहने गरी खटाउने भएकोे छ। 

यस्तै, सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशमा ६ हजार ८७४ जना सशस्त्र प्रहरी र तीन हजार १३५ जना निर्वाचन प्रहरी गरी १० हजार नाैजना सुरक्षाकर्मी खटाइने सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशमा रहेका प्रत्येक निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन क्षेत्र सुरक्षा बेस निर्माण गरेको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा चारवटा स्ट्राइकिङ बनाइएको छ भने आठवटा मोबाइल टोलीमा प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक रहने गरी परिचान गरीएको छ।

यसैगरी, नेपाली सेनाले पनि निर्वाचन सुरक्षालाई सुदृढ बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ। सेनाले पृतना कार्यालयमार्फत आवश्यकताअनुसार सैन्य मुकाम, गण, बटालियन तथा कम्पनी तहका इकाइहरूबाट सेना परिचालन गरिने बताइएको छ। एकीकृत सुरक्षा योजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा तयार पारिएको एकीकृत कार्ययोजनाअनुसार आवश्यकताका आधारमा सेना परिचालन गरिने नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 

उता राष्ट्रिय अनुसन्धान विभागले पनि मधेश प्रदेशमा आफ्नो सक्रियता बढाएको छ। विभागले जिल्लास्थित अनुसन्धान उपरीक्षकमार्फत प्रत्येक जिल्लामा स्थानीय एजेन्ट परिचालन गरेको जनाएको छ।

विभागका एक केन्द्रीय अनुसन्धान अधिकृतका अनुसार दरबन्दीअनुसार पर्याप्त जनशक्ति नहुँदा केन्द्रबाट थप कर्मचारी खटाउन कठिनाइ रहेकाले जिल्ला प्रमुखले नै निर्वाचन अवधिका लागि अस्थायी रूपमा एजेन्ट नियुक्त गरेका छन्। ती एजेन्टहरू निर्वाचन सुरक्षासँग सम्बन्धित सूचनाहरू संकलन तथा विश्लेषणमा केन्द्रित रहने बताइएको छ। नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी आठ हजारभन्दा बढी प्ररिचालन  हुनेछन् । 

मधेशमा चुनावी सुरक्षा उच्च सतर्कतामा
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा व्यवस्था विशेष निगरानीमा राखिएको छ। सुरक्षा निकायको आन्तरिक विश्लेषणअनुसार खुला भारत सिमाना, बढ्दो आपराधिक गतिविधि, भूमिगत समूहको चलखेल र निर्वाचनविरोधी गतिविधि सम्भावित जोखिमका मुख्य आधार बनेका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार प्रदेशका केही जिल्लामा आपराधिक घटनाको दर तुलनात्मक रूपमा उच्च भएकाले मतदान प्रक्रिया सुरक्षित र निष्पक्ष बनाउन अतिरिक्त रणनीति अपनाइएको छ।

प्रदेशभर रहेका २,१६० मतदानस्थलमध्ये १,२३७ स्थललाई अतिसंवेदनशील र ७६३ स्थललाई संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ। सप्तरीलाई रेडजोन घोषणा गरिएको छ भने धनुषा र महोत्तरीलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ। यद्यपि, सुरक्षा निकायले मधेशका सबै जिल्ला सुरक्षा दृष्टिले संवेदनशील रहेको निष्कर्ष निकालेका छन्।

उच्च जोखिम क्षेत्रमा ड्रोन निगरानी, सिसिटिभी जडान, मोबाइल गस्ती परिचालन तथा सीमा क्षेत्रमा कडा जाँच व्यवस्थालाई प्राथमिकता दिइनेछ। खुला सिमाना क्षेत्रबाट हतियार ओसारपसार, अवैध नगदको चलखेल र मतदातामाथि प्रभाव पार्ने गतिविधि रोक्न विशेष संयन्त्र परिचालन गरिने बताइएको छ।

मधेश प्रदेश प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष सतर्कता अपनाइनेछ र निर्वाचन अवधिभर संयुक्त सुरक्षा संयन्त्र सक्रिय रहने जनाएको छ।

सुरक्षा निकायले मधेशमा देखिएको तीव्र राजनीतिक प्रतिस्पर्धा, जातीय तथा धार्मिक संवेदनशीलतालाई पनि चुनौतीका रूपमा लिएको छ। विगतमा भएका बुथ कब्जा, मतपेटिका तोडफोडजस्ता घटनाको पुनरावृत्ति हुन नदिन विशेष सुरक्षा योजना कार्यान्वयन गरिने जनाइएको छ। निर्वाचन मतदाताका लागि लोकतान्त्रिक अवसर भए पनि सुरक्षाकर्मीका लागि प्रभावकारी व्यवस्थापनको कडा परीक्षा मधेशमा हुने निश्चित देखिएको छ।

सुझावित समाचार