आइसिसी पुरुष टी–२० विश्वकप २०२६: नेपालको उतारचढावपूर्ण प्रदर्शन

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

विश्वकप यात्रा थाल्नुअघि नेपालको लक्ष्य सुपर ८ थियो । अझ टेस्ट राष्ट्रलाई हराएर समूह चरण पार गर्ने योजना नेपाली कप्तान रोहितकुमार पौडेलले बनाएका थिए । विश्वकपमा नेपालले यी लक्ष्य पूरा गर्न सकेन । नेपाल एक जितका साथ फर्किएको छ । मुम्बईको वानखेडे रंगशालामा नेपालले मिश्रित नतिजा निकाल्यो । कुनै खेलमा हारले पनि वाहवाही कमायो । त्यस्तै, अर्को हारले चौतर्फी आलोचना खेप्नुपर्यो । यसपटकको विश्वकप यात्रामा नेपालको एउटा सुखद पक्ष भनेको १२ वर्षपछि जितका साथ घर फर्किएको छ । 

नेपालले चालू विश्वकपअन्तर्गत एसोसिएट राष्ट्रकै शीर्ष वरीयताको टोली स्कटल्यान्डलाई समूह ‘सी’को अन्तिम खेलमा हरायो । स्कटल्यान्डविरुद्धको जितमा नेपालको पुनः एकपटक चर्चा भयो । विशेषतः अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आक्रामक खेलकेन्द्रित थियो । उनी नै खेलका म्याच अफ दी म्याच भए । दीपेन्द्रसिंहको अर्धशतकीय इनिङ्सको सहयोगमा नेपालले सन् २०१४ पछि विश्वकपमा जित हात पार्यो । 

इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन,संसारभरि चर्चा
नेपालको समूहमा सामान्य प्रतिद्वन्द्वी थिएनन् । दुईपटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज यसै समूहमा थिए । यी दुई राष्ट्रलाई हराएर समूह चरण पार गर्ने हिम्मत नेपालले राखेको थियो । समूह चरणको पहिलो खेलमै नेपालले वानखेडे रंगशालामा १९ हजार दर्शकका अगाडि इंग्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्यो । अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो । तर, नेपालले केवल ५ रन मात्र बनाउँदा इंग्ल्यान्डले हारेको खेलमाथि कब्जा जमायो । 

इंग्ल्यान्डको जितभन्दा पनि नेपालको बहादुरी प्रदर्शनले विश्वभरि नै प्राथमिकता पाएको थियो । बिबिसीदेखि द गार्डियनसम्मले इंग्ल्यान्डको भन्दा नेपालकै तारिफमा शब्द खर्चिए । ‘नेपालको प्रदर्शन अस्वाभाविक..., झन्डै इंग्ल्यान्ड पराजित भइसकेको थियो,’ द गार्डियनले लेखेको थियो ।

१०औँ संस्करणको विश्वकपमा नेपालले तीन हार र एक जित निकाल्यो । इंग्ल्यान्डविरुद्ध बहादुरी प्रदर्शन गरेको नेपालले नवप्रवेशी इटालीबाट १० विकेट र वेस्ट इन्डिजसँग नौ विकेटको हार सामना गर्यो । प्रतिष्ठाको लडाइँमा स्कटल्यान्डमाथि सात विकेटको जित हात पार्यो । 

इंग्ल्यान्डजस्तो उपाधि दाबेदारलाई अन्तिम बलसम्म चुनौती तेस्र्याएको नेपालको प्रदर्शनमा त्यस दिन भारतीय मिडिया, क्रिकेटविज्ञ, आइपिएलका फ्रेन्चाइज टोली तथा पूर्वचर्चित खेलाडीबाट प्रशंसा भएको थियो । वानखेडे रंगशालामा होस् जा मरिन ड्राइभमा नेपाली खेलाडीको चर्चा हुन्थ्यो । गाडीमा हिँड्दा होस् या मुम्बईका गल्लीहरू हिँड्दा खेलाडी र नेपाली क्रिकेटकै कुरा सुनिन्थ्यो । सन् २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले चुक्दा नेपाललाई अभागी तथा अनुभव नपुगेको टोली भनिएको थियो । यसपटक इंग्ल्यान्डसँगको खेलले पनि नेपालले जितेबराबरको प्रशंसा पायो । 

इटालीविरुद्ध ‘ओभर कन्फिडेन्स’
इंग्ल्यान्डसँगको खेलपछि चार दिन ब्रेक भयो । यो चार दिन नेपालका खेलाडी अघिल्लो खेलकै मजा लिइरहेका देखिन्थे । उनीहरूलाई दोस्रो खेलमा त्यति चिन्ता थिएन । इटाली विश्वकपकै नवप्रवेशी थियो । वरीयतामा पनि आफूभन्दा १० स्थानमुनि थियो । फेरि एसोसिएट राष्ट्रमा इटालीभन्दा नेपाल निकै राम्रो थियो । नेपाली खेलाडी यो बिर्सिन पुगे कि आफ्ना प्रतिद्वन्द्वीलाई कहिल्यै कमजोर आँक्नुहुँदैन । खेलको अन्तिम समयसम्म नतिजा जे पनि हुन सक्छ । 

दोस्रो खेलमा भयो यस्तै । नेपालले एकपक्षीय जित निकाल्ने अनुमान लगाइएको खेलमा इटालीले उल्टै १० विकेटको सानदार जित निकाली वानखेडे रंगशालामा १८ हजार नेपाली समर्थकलाई स्तब्ध बनायो । सो खेलमा नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ चल्दै चलेन । इटालीले नेपाललाई क्रिकेटको पाठ सिकायो । यो खेलमा नेपाल खेलाडी ओभर कन्फिडेन्स थिए । ब्याटिङका क्रममा ११ जना खेलाडी नै सामना गरेको बलमै बाउन्ड्री लगाउने योजनामा थिए । 

यसै चक्करमा इटालीका बलर हावी भए । इटालीले प्रतिस्पर्धामा कुनै पनि क्याच मिस गरेन । भनिन्छ क्रिकेटमा ‘क्याचेज विन द गेम’ । इटालीले यसै उदाहरण प्रस्तुत गर्दै कठिनभन्दा कठिन क्याच लिँदै नेपालको ब्याटिङ धराशयी बनायो । नेपालले इतिहासकै लज्जास्पद नतिजा व्यहोर्यो । यो प्रदर्शनमा विशेषतः प्रशिक्षक स्टुवार्ट ल थिए । उनले खुलेरै नेपाली खेलाडीबाट भएका असाधारण प्रदर्शनको कारण औँल्याए । 

‘इटालीविरुद्ध नेपाली खेलाडीले जुन प्रदर्शन गरे, त्यसलाई माफी दिन सकिँदैन,’ प्रशिक्षक स्टुआर्ट लले भने, ‘नेपाली खेलाडी सोसल मिडियाबाट टाढा बस्नुपर्छ ।’ उनी विश्वकपमा नेपाललाई प्रशिक्षण गराउने तेस्रो प्रशिक्षक हुन् । सन् २०१४ मा क्यानडाका पुबुदु दासानायके तथा सन् २०२४ मा भारतका मोन्टी देसाईको प्रशिक्षणमा नेपालले विश्वकप खेलेको थियो । 

वेस्ट इन्डिजसँग सोचेको नतिजा
पहिलो दुई खेलमा नेपालको प्रदर्शन आकाश–जमिन फरक भयो । चर्चाको शिखरमा पुगेको नेपाल एकैपटक ओरालो लाग्यो । इटालीसँगको खेलबारे केही पनि बोल्न चाहेनन् । लगातार दुई खेलमा हार सामना गरेपछि नेपालको सुपर ८ को सपना कमजोर बनिसकेको थियो । वेस्ट इन्डिजसँग तेस्रो खेल थियो । यो खेलमा हार निकाल्दा नेपालको विश्वकप यात्रा समूह चरणसम्मै सीमित हुने थियो । जितले सम्भावना कायम रहने थियो । चालू विश्वकपमा वेस्ट इन्डिज राम्रो ‘सेप’मा छ । उनीहरूका बलरदेखि ब्याट्सम्यान फर्ममा छन् । 

यस्तो अवस्थामा नेपालले खेल्नुपर्ने थियो । नेपालले गत वर्षको सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध युएईको टी–२० आई सिरिजमा ऐतिहासिक २–१ को जित निकालेको थियो । एक किसिमले वेस्ट इन्डिज नेपालको नयाँ प्रतिद्वन्द्वी थिएन । तर, नेपाली खेलाडीले यो बिर्सिए कि यो वेस्ट इन्डिज टोली पूरै पहिलो रोजाइको थियो । वेस्ट इन्डिजले नेपाललाई ब्याटिङ गरायो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले आफ्नो अनुभव प्रयोग गरी नेपाललाई सम्मानजक योगफलसम्म पु¥याए । 

अघिल्ला दुई खेलमा बेन्चमा बसेका सोमपालले आफ्नो उपस्थितिलाई सार्थक बनाए । उनले यसै खेलमा तीनवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडीको नाम लेखाए । ब्याटिङमा वेस्ट इन्डिजले आक्रामक खेल प्रस्तुत गर्दै खेल १६ ओभरसम्म पनि पुर्याए । वेस्ट इन्डिजसँगको नौ विकेटको हार स्वभाविक रूपमै थियो । हारसँगै नेपाल समूह चरणबाटै बाहिरियो । जुन कुनै नौलो भएन । 

१२ वर्षपछि पहिलो जित
१०औँ संस्करणको विश्वकपअन्तर्गत चौथो खेलसम्म आइपुग्दा नेपाल प्रतिष्ठाको लडाइँमा सीमित भयो । अब नेपालले एसोसिएट राष्ट्र स्कटल्यान्डसँग भिड्नुपर्ने थियो । स्कटल्यान्डलाई हराएर कम्तीमा विश्वकपमा एउटा जितका साथ यात्रा सकाउने योजनामा नेपाली खेलाडी थिए । यसै किसिमको समीकरणमा स्कटल्यान्ड पनि थियो । विश्वकपबाट बाहिरिसकेको पृष्ठभूमिमा स्कटल्यान्डले नेपाललाई हराउने लक्ष्य राख्यो । 

वानखेडे रंगशालामा पहिलो ब्याटिङ गरी स्कटल्यान्डले सात विकेट गुमाएर १७० रन बनायो । सोमपाल कामीले उत्कृष्ट कमब्याक गर्दै स्कटल्यान्डको रनगतिमा ब्रेक लगाए । यद्यपि, यो लक्ष्य चुनौतीपूर्ण नै थियो । तर, ओपनर कुशल भुर्तेलको आक्रामक इनिङ्स, दीपेन्द्रसिंहको ५० रन तथा गुल्सन झाको विस्फोटक ब्याटिङमा नेपालले १९.२ ओभरमा सात विकेटको जित निकाल्यो । योसँगै नेपालले सन् २०१४ पछि विश्वकपमा समग्रमा तेस्रो जित हात पा¥यो ।

अन्ततः नेपालले चालू विश्वकपमा मिश्रित प्रदर्शन गरी बुधबार राति घर फर्कियो । नेपालका कप्तान रोहित विश्वकपको नतिजाबाट खुसी देखिएनन् । विश्वकपमा शेर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गरे । लोकेश बम, शेर, आरिफ शेख, नन्दन यादवले पहिलोपटक विश्वकपमा अवसर पाए । बसिर अहमद भने बेन्चमै सीमित बने । ‘हामीले जे लक्ष्य बोकेका थियौँ, त्यसमा चुक्यौँ,’ उनले भने, ‘इंग्ल्यान्डसँग सुरुवात राम्रो भएको थियो । त्यसलाई निरन्तरता दिन सकेनौँ । दोस्रो चरण पुग्ने अवसर गुमायौँ ।’

सुझावित समाचार