आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बारामा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बारा र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा बिहीबार कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।
निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो। मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको थियो।
नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो। मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा वास्तविक मतदान जस्तै वातावरण सिर्जना गरिएको थियो।
मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको थियो। साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताए। उनले मतदातालाई सही तरिकाले मतदान गर्न आग्रह गर्दै बदर मत न्यूनिकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायतको उपस्थिति रहेको थियो।
यसैगरी सशस्त्र प्रहरी बलका गणपति विशाल सिलवाल, नेपाली सेनाका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवीन चौधरीसहित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन यस्ता अभ्यास कार्यक्रम प्रभावकारी हुने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन। जिल्ला निर्वाचन कार्यालयले आगामी दिनमा पनि मतदाता शिक्षा तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।