जुम्लामा भ्यान दुर्घटना हुँदा तीन निर्वाचन प्रहरीसहित सातजना घाइते

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

जुम्लामा भ्यान दुर्घटना हुँदा तीन निर्वाचन प्रहरीसहित सातजना घाइते भएका छन्। जुम्लादेखि नाग्म जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका–६, धौलापानीस्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो।

भ्यान अनियन्त्रित भई सडकछेउमा रोकिराखेको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्रयाक्टरमा ठोक्किँदा सडकबाट करिब ४० मिटर तल बारीमा खसेको प्रहरीले जनाएको छ।

गाडीमा सवार चालकसहित ७ जना घाइते भएका हुन्। प्रहरी चौकी हाँकुले घाइतेलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छ। घाइते धर्मेन्द्र रोकाया र मेनुका बुढाको अवस्था गम्भीर छ।

चालक तातोपानी गाउँपालिका– २ बाबिरा बस्ने १९ वर्षका लोकेश खड्काको खुट्टा र आँखामा चोट लागेको छ भने तिला गाउँपालिका– १ बस्ने ३५ वर्षीया मेनुका बुढाको निधार र ढाडमा चोट लागेको छ। उनको अवस्था गम्भीर छ।

त्यस्तै, पातारासी गाउँपालिका– ४, लुम बस्ने ३१ ,र्षीया माया नेपालीको टाउकोमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। तातोपानी गाउँपालिका– ३, लिताकोट बस्ने ४८ वर्षीया पुनी सुनारको छातीमा चोट लागेको र अवस्था मध्यम छ।

निर्वाचन प्रहरीहरू तिला गाउँपालिका– २ बस्ने २० वर्षीय  टेकेन्द्र रावत, तिला–२ का २० वर्षीय पारस रावत, हिमा गाउँपालिका–२ बस्ने २१ वर्षीय धर्मेन्द्र रोकाया (मुखमा चोट)को अवस्था सामान्य रहेको डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए।

सुझावित समाचार