इजरायली अल्टिमेटम हमासद्वारा अस्वीकार

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

 इजरायली सरकारी अधिकारीले गाजामा सक्रिय सशस्त्र समूह हमासलाई ६० दिनमा निःशस्त्रीकरणका लागि गरेको आह्वानलाई हमासले अस्वीकार गरेको छ । इजरायली अधिकारीले उक्त समयमा निःशस्त्रीकरण नगरिए गाजामा पुनः नरसंहार सुरु गर्ने धम्की दिएका थिए । हमासका वरिष्ठ नेता महमुद मर्दावीले सोमबार अलजजिरासँग बोल्दै आफूहरूलाई यस्तो मागबारे कुनै जानकारी नै नभएकोसमेत बताए ।

इजरायली सञ्चारमाध्यम ‘टाइम्स अफ इजरायल’ले लेखेअनुसार सोमबार जेरुसेलममा आयोजित एक कार्यक्रममा बोल्दै इजरायली क्याबिनेटका सचिव योसी फुच्सले ६० दिनभित्र हमासले निःशस्त्रीकरण नगरे गाजामा नरसंहार युद्ध पुनः सुरु हुने धम्की दिएका थिए । क्याबिनेटमा नेतान्याहुका प्रमुख सहयोगी रहेका फुच्सले यो दुई महिनाको अवधि पनि संयुक्त राज्य अमेरिकाको अनुरोधमा प्रदान गरिएको बताए । अल्टिमेटम कहिले सुरु हुन्छ भन्ने पुष्टि नगरी फुच्सले सम्भवतः यो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पिस अफ बोर्डको फेब्रुअरी १९ को बैठकबाट सुरु हुन सक्ने संकेत गरे । 

अहिले गाजामा ‘युद्धविराम’ सम्झौताको दोस्रो चरण लागू छ । जनवरीको मध्यमा सुरु भएको दोस्रो चरणमा अमेरिकाले हमासको निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय शान्ति सेनाको तैनाथी हुने बताएको छ । तर, हमासले भने इजरायलले गाजा कब्जा गरिरहेसम्म आफूहरूले हतियार नत्याग्ने बताएको छ । यसअघि महिनाको सुरुमा हमासका विदेशमा रहेका राजनीतिक नेता खालेद मेसालले गाजामा निःशस्त्रीकरणलाई अस्वीकार गरेका थिए ।

बाह्य शक्तिको नियन्त्रणमा रहेको भूमिमा हतियार खोस्दा अतिक्रमणकारीलाई ‘दमनका लागि सजिलो’ हुने बताए । इजरायलले अक्टोबर २०२३ देखि गाजामा सञ्चालन गरेको नरसंहारकारी युद्धमा हजारौँ बालबालिकासहित ७२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय अमेरिकी मध्यस्थतामा गाजामा ‘युद्धविराम’ लागू भएको बताइए पनि इजरायलले पूर्ण रूपमा आक्रमण रोकेको छैन । 

See More On

सुझावित समाचार