१० बजेसम्मका १० मुख्य समाचार

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

जनकपुरमा कांग्रेसको प्रतिज्ञा-सभा 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाटा हानेर देश नबन्ने बताएका छन्। 

बुधबार जनकपुरधाममा पार्टीका ‘भिजन’ सार्वजनिक गर्दै सभापति थापाले ‘तँ चोर, म असल’ भनेर देश नबन्ने प्रस्ट्याएका हुन्। देश बनाउन समस्याको जरा पत्ता लगाउनुपर्ने उल्लेख गर्दै थापाले आफूहरू त्यही संकल्प बोकेर आएको बताए।

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष-सभा 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका अधिकारलाई माग बनाएर राजनीति गर्नेको सटर बन्द गरिदिन मतदातालाई आग्रह गरेका छन्। बुधबार धनगढीमा पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले कि रास्वपाको कि पुराना दलको सटर बन्द गरिदिन आह्वान गरे।

चस्मा हटाउँदै बालेनले भने– आँखा हेर्न पर्दैन, काम हेर्नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीका उम्मेदवारलाई कामका सूची बुझाउन मतदातालाई आह्वान गरेका छन्।धनगढीमा पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहले भोट नदिए पनि काम दिन आग्रह गरे।

‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,’ उनले भने, ‘के(के छ तपाईंहरूको काम, हाम्रा उम्मेदवारलाई लिस्ट दिनुहोला। काम गरेर देखाउँछ, राष्ट्रिय स्वतन्त्र पार्टीले।’

चुनाव जित्नेभन्दा देश सम्हाल्ने विषय मुख्य - विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको विषम् परिस्थितिमा देश कसले सम्हाल्ने भन्ने विषय महत्त्वपूर्ण हुने बताएका छन्। बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले चुनाव कसले जित्नेभन्दा पनि देश कसले सम्हाल्ने भन्ने कुरा मुख्य रहेको बताएका हुन्।

नेपाली कांग्रेसको १० बुँदे ‘भिजन’ सार्वजनिक  
नेपाली कांग्रेसले आफ्नो १०बुँदे भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित प्रतिज्ञा(सभामा कांग्रेसले भिजन सार्वजनिक गरेको हो। यसलाई कांग्रेसले देश बदल्ने १० संकल्प भनेको छ।  

नेपालमा मलेसियाबाट गाँजा तस्करी 

नेपालमा मलेसियाबाट समेत गाँजा तस्करी हुन थालेको छ । मलेसियाबाट ल्याइएको १३ केजी तीन सय ३० ग्राम गाँजा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको छ ।सो गाँजा लिन आएका चार भारतीय पनि पक्राउ परेका छन्। 

निर्वाचनविरोधी गतिविधिमा संलग्न पाँचजना पक्राउ 

निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका पाँच नेता तथा कार्यकर्ता बुधबार पक्राउ परेका छन्। 
केन्द्रीय सस्दस्य नरेन्द्र  विके भन्ने नरेन्द्रबहादुर रिजाल, नेकपा बहुमतनिकट विद्यार्थी नेतृ सुप्रिया नेपाली, नेकपा बहमुतकै सदस्य वीरजन विश्वकर्मा, स्वर्णिम विके  र नवलबहादुर भुललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

अलराउन्ड वरीयतामा दुई स्थान सुधार गर्दै दीपेन्द्र चौथो स्थानमा 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० अलराउन्डमा आफ्नो वरीयता सुधार गरेका छन्। आइसिसीले बुधाबर अध्यावधिक गरेको नयाँ वरीयतामा अलराउन्डर ऐरीले दुई स्थान सुधार गरेका हुन्। उनी २४४ रेटिङसहित चौथो स्थानमा उक्लिएका छन्।

मकवानपुरमा ४३८ किलो गाँजासहित दुईजना पक्राउ 

मकवानपुर प्रहरीले बुधबार ४३८ किलो ४३ ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका– १० का २७ वर्षीय रामबहादुर मोक्तान र सोही स्थानका १९ वर्षीय अनिल थिङ रहेका छन्। 

देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ- प्रचण्ड 
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्ने बताएका छन्। 
बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिकाका मतदातासँगको भेटघाटका क्रममा प्रचण्डले भने, ‘यो निर्वाचन राष्ट्रका लागि महत्त्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ।’

सुझावित समाचार