मकवानपुरमा ४३८ किलो गाँजासहित दुईजना पक्राउ

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुर प्रहरीले बुधबार ४३८ किलो ४३ ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका– १० का २७ वर्षीय रामबहादुर मोक्तान र सोही स्थानका १९ वर्षीय अनिल थिङ रहेका छन्।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ बजे प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले गस्तीका क्रममा भीमफेदी गाउँपालिका–२, चुनियास्थित त्रिभुवन राजपथनजिक भित्री सडक खण्डमा शंकास्पद रूपमा गुडिरहेका सवारीसाधन जाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीले लु १ च २१५२ नम्बरको बोलेरो गाडी र बा प्र ०३–००५ प ४५७६ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा बोलेरो गाडीको पछाडिको डालाभित्र लुका'छिपाई राखिएको अवस्थामा ४३८ किलो ४३ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ परेका मोक्तान बोलेरोचालक र थिङ मोटरसाइकलचालक रहेको प्रहरीले बताएको छ। बरामद गाँजा र सवारीसाधनसहित दुवैजनाविरुद्ध प्रहरीले लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।

सुझावित समाचार