प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा दर्ता गराएर व्यक्तिले राखेको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले गरेको आग्रहलाई नागरिकले बेवास्ता गरेका छन्।
जिल्ला प्रशासन कार्यालयको रेकर्डअनुसार जिल्लामा विभिन्न वित्तीय संस्थाहरूमा २४ वटा र व्यक्तिको नाममा रहेका १४ वटा गरी ३८ वटा हतियार दर्ता भएका छन्। सरकारी मापदण्डअनुसार दर्ता गराएर लिएका धेरै वित्तीय संस्थाले हतियार नवीकरणसमेत गरेका छैनन्। नवीकरण नगरेका ती हतियारहरू अहिले कहाँ छन् भन्ने विषयमा स्थानीय प्रशासन नै अनभिज्ञ छ।
प्रशासनले निकालेको सूचनाको समयावधि सकिएको छ। प्रशासनका अनुसार जिल्लामा हालसम्म ७ वटा मात्र हातहतियार बुझाएको र अन्य व्यक्तिहरू हतियार बुझाउन नआएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजनप्रसाद तिम्सिनाले जानकारी दिए।
जिल्ला प्रशासनले लाइसेन्स प्राप्त (दर्ता भएका) हातहतियार र अन्य दर्ताविनाका हतियारहरू माघ २० गतेभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आह्वान गरेको थियो। निर्देशनलाई अटेर गरी हातहतियार राखेको भेटिएमा कानुनअनुसार हदैसम्मको कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।