रुपन्देही प्रहरीमा एक महिनामै ११५ मुद्दा दर्ता, संगठित तथा आर्थिक अपराधका मात्रै ३९ मुद्दा

ठाडो उजुरीका ४१८, महिला तथा बालिका हराउने क्रम बढ्दो, माघ महिनामा ३६महिला र १८ बालिका हराए

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देहीमा माघ महिनामा मात्रै ११५ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दर्ता भएका मुद्दामा संगठित तथा आर्थिक अपराधका मुद्दा ३९ वटा रहेका छन् । यहाँ सामाजिक अपराधका मुद्दाको संख्या पनि उल्लेख्य रहेको छ। जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार सामाजिक अपराधका मुद्दा २६ वटा दर्ता भएका छन् । त्यस्तै चोरीका ६, सवारीसम्बन्धी १२, महिला बालबालिकासम्बन्धी अपराधका चार तथा आत्महत्याका ६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

माघ महिनामा प्रहरीले १२१ जना चालू मुद्दाका प्रतिवादीहरूलाई पक्राउ पनि गरेको छ । प्रहरीले १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । यहाँ माघ महिनामा मात्रै हराएका महिला, पुरुष, बाल–बालिका तथा ज्येष्ठ नागरिक संख्या ७८  रहेको छ । जसमा सबैभन्दा धेरै महिला रहेका छन् । जिप्रकाका प्रनाउ चन्दका अनुसार महिला ३६, बालिका १८, ज्येष्ठ नागरिक महिला एकजना माघ महिनामा हराएका छन् । त्यस्तै, पुरुषतर्फ ज्येष्ठ नागरिक तीन, बालक पाँच र पुरुष १५ हराएको तथ्यांक यहाँ रहेको छ । माघ  महिनामा २८ जना भेटिएका छन् । जसमा पुरुष ६, बालिका नाै, ज्येष्ठ नागरिक महिला एक रहेका छन् । अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा हराएकामध्ये माघ महिनामा तीनजना फेला परेका छन् ।

रुपन्देहीमा माघ महिनामा घरेलु हिंसाका ७१ वटा उजुरी परे । जसमा घरायसी झै–झगडाका २९ वटा रहेका छन् । त्यस्तै, मादक पदार्थ सेवन गरी गालीगलौजका ११, विवाह दर्ता र  नागरिकता नबनाइदिएको एकवटा उजुरी पनि परेका छन् । यहाँ लागुऔषधका मुद्दा ११ वटा रहेकोमा २१ जना पक्राउ परेका थिए । त्यस्तै, रुपन्देही प्रहरीमा ठाडो उजुरीको संख्या पनि उल्लेख्य रहेको छ । यहाँ ४१८ ठाडो उजुरीमा ३५५ वटा फर्स्योट भएका छन् ।

सवारी दुर्घटना ७१, मृत्यु ६, घाइते १३७
माघ महिनामा रुपन्देहीमा ७१ सवारी दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ भने १३७ जना घाइते भएका छन् । प्रहरीले यस महिनामा चेकजाँचका क्रममा तीन हजार ४५ वटा सवारीलाई कारबाही गरेको छ । यसबाट ५१ लाख ८६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फको कारबाहीमा एक करोड ३६ लाख एक हजार ५२ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा राजस्व छलीमा संलग्न सातजनालाई पक्राउ पनि गरेको छ ।

सुझावित समाचार