धनकुटाबाट दुई हजार ३०८ जना अस्थायी मतदाताले मतदान गर्ने

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनकुटाबाट दुई  हजार ३०८ जना अस्थायी मतदाताले मतदान गर्ने भएका छन् ।प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र अस्थायी मतदाताहरूले मतदान गर्न पाउनेछन्। जसमा कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीहरू अस्थायी मतदाता हुनेछन् ।

उनीहरूका लागि दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय धनकुटा र गोकुण्डेश्वर मावि धनकुटा– ६, सिरानबजार अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

अस्थायी मतदान केन्द्रमा मतदान गर्नेमध्ये ७६ जना कैदीबन्दी र दुई हजार २३२ जना कर्मचारी र सुरक्षाकर्मी रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्ने व्यवस्था रहेको छ ।

अस्थायी मतदाताले प्रत्यक्षतर्फका उम्मेदवारलाई भने मतदान गर्न पाउँदैनन् । अस्थायीबाहेक धनकुटामा एक लाख १८ हजार ४२५ जना मतदाता संख्या रहेका छन् भने ११९ मतदानस्थल र १६६ मतदान केन्द्र रहेका छन् ।

सुझावित समाचार