२५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप जारी : क्वार्टरफाइनलका खेलहरू सम्पन्न, उज्वेकिस्तानको आभा अन्तिम चारमा

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन्। सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका हुन् ।

क्वार्टरफाइनलको अन्तिम खेलमा जित हात पार्दै  पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबले अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । बाई पाएर क्वार्टरफाइनलमा स्थान बनाएको आभाले प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा आभाले गरेको एक मात्र गोल जितका लागि निर्णयक बन्यो । खेलको ५६औँ मिनेटमा प्लेयर अफ दी म्याचसमेत रहेका आभाका उमिदजोन कारिलोभले गरेको गोल नै टोलीको सेमिफाइनल यात्राका लागि पर्याप्त बन्यो ।  

जितसँगै आभाले फाइनल प्रवेशका लागि ७ गते हुने सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबसँगको भेट पक्का गरेको हो । प्लानिङले यसअघि प्रि क्वार्टरफाइनलको खेलमा फ्रेन्ड्स क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलको स्थान तय गरेको थियो । तीन विदेशीसहित १२ टोली सहभागी प्रतियोगितामा बुधबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुनेछन् । बुधबारको सेमिफाइनल खेलमा आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी  क्लब भिड्नेछन् । 

९ फागनुसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउँदा विधागत रूपमा उत्कृष्ट हुने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकसँगै उदीयमान खेलाडी र अनुशासित टिमले जनही २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी हरेक खेलका म्यान अफ दी म्याचले १० हजार र ट्रफी पाउँदा, हरेक खेलका भाग्यशाली दर्शकले पाँच हजार र हरेक म्याचको फ्यान अफ दी म्याचले दुई हजार पाँच सय नगद पाउनेछन् । 

सुझावित समाचार