प्रेरक प्रसंग : गधा र कुकुरको दौड

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

एकपटक एउटा गधा र कुकुरबिच को छिटो दौडिन सक्छ भन्ने विषयमा विवाद भयो । उनीहरूले आफूहरूबिच दौड प्रतियोगिता नै गर्ने सहमति गरे । उनीहरूले जसले दौड प्रतियोगिता जित्छ, ऊ राजा हुने र हार्ने उसको सेवक बन्ने सर्त लगाए । निश्चित मिति, समय र स्थानमा दौड सुरु भयो । दुवैले जोडले दौडिन सुरु गरे । 

कुकुरले सोच्यो– यो गधासितको दौड पनि कुनै दौड हो ! यसलाई त म ख्यालख्यालमै हराइदिन्छु । दौड जितेपछि म राजा हुन्छु र यो गधा मेरो सेवक हुनेछ । तर, जब दौड बजारको दोस्रो गल्लीमा पुग्यो, त्यहाँका स्थानीय कुकुरले दौडमा सहभागी कुकुरलाई घेरे । सबैले उसमाथि आक्रमण नै गरे । सबैको आक्रमणबाट मुस्किलले ज्यान जोगाएर ऊ अघि बढ्यो । अर्को गल्लीमा पुग्दा फेरि उसको जम्काभेट अन्य स्थानीय कुकुरसित भयो । पुरानै कहानी दोहोरियो । ऊ त्यहाँबाट पनि ज्यान जोगाएर मुस्किलले अघि बढ्यो । यतिखेरसम्म ऊ अलिअलि घाइते पनि भइसकेको थियो । यसैगरी, अघि बढ्दै जाँदा उसले प्रत्येक गल्लीमा आफ्नै समुदायका साथीसित जुध्नुपर्यो । सबैले उसलाई रोक्नै खोजे । सबैले उसलाई अघि बढ्न दिएनन् ।

सबैतिर संघर्ष गर्दागर्दै कुकुर बल्ल तोकिएको अन्तिम बिन्दुमा पुग्यो । त्यहाँ पुग्दा त गधा उहिल्यै त्यहाँ पुगेर राजा बनिसकेछ । सर्तअनुसार कुकुरले गधाको सेवक नबनी धरै पाएन । आफ्नै समुदायका कारण यसरी प्रतियोगिता हारेर आफू गधाको सेवक बन्नुपरेकोमा कुकुर सारै दु:खी भयो ।

सुझावित समाचार