कपिलवस्तुमा बम राख्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

मंगलबार बिहान कपिलवस्तुका विभिन्न तीन स्थानमा बमजस्तो शंकास्पद वस्तु राखिएको घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा वाणगंगा नगरपालिका– २, तिनैया बस्ने ५८ वर्षीय शोभे थारू रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान बुद्धभूमि नगरपालिका– २, गोरुसिंगे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग, महाराजगन्ज नगरपालिका– २, वाणगंगा नदीको बर्गदी पुल र शिवराज नगरपालिका– १ स्थित शिवपुर रेञ्जर पोस्टनजिक बमजस्तो देखिने वस्तु फेला परेको र सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर ती स्थान सुरक्षित गरिएको र शंकास्पद वस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु राख्ने कार्यमा थारूको संलग्नता देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। उनी नेकपा (बहुमत) का कार्यकर्ता रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीले थारूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फाेटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ। मंगलबार नै जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

उक्त घटनापछि अहिले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जानकारी दिएको छ ।
 

सुझावित समाचार