उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउँदा नेपालले आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ । मंगलबार वानखेडे रंगशालामा नेपालले स्कटल्यान्डलाई सात विकेटले हरायो ।
टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । एक समय दुई सय रनको कुल स्कोरतर्फ बढिरहेको स्कटल्यान्डलाई सोमपाल कामीले १६औँ ओभरमा लगातार दुई विकेट लिँदै रोकेका थिए । प्रत्युत्तरमा नेपालले चार बलअघि सात विकेट निकाल्दै जित निकालेको हो ।
स्कटल्यान्डको इनिङ्समा माइकल जोन्सले अर्धशतक बनाएका थिए ।
१२ वर्षपछि विश्वकपमा नेपालले जित निकाल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनको यो विश्वकपमा लगातार दोस्रो अर्धशतक हो । यसअघि वेस्ट इन्डिजविरुद्ध पनि ५८ रन बनाएका थिए ।
स्कटल्यान्डविरुद्ध दीपेन्द्रले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित सर्वाधिक ५० रन बनाए । गुल्सन झाले पनि १७ बलमा २४ रनको योगदान गरेका हुन् । दीपेन्द्र र गुल्सनबिच तेस्रो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो ।
नेपालले अन्तिम खेलमा जित निकाल्दै १२ वर्षदेखिको जितको खडेरी तोडेको छ । सन् २०१४ पछि नेपाली टिमले विश्वकपमा जित निकालेको थिएन । सन् २०२४ मा दोस्रोपटक विश्वकप खेल्दा पनि नेपाल जितविहीन भएको थियो । सन् २०१४ मा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो ।
आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको हो । यसअघि नेपालले टससहित खेल नै हारेको थियो । प्रशिक्षक स्टुआर्ट लले सन्दीप जोरालाई पहिलोपटक अवसर दिएका थिए । उनको विश्वकपमा पनि डेब्यु भएको छ । सन्दीपले करण केसीको स्थान लिएका हुन् । अन्य खेलाडी भने यसअघि वेस्ट इन्डिजविरुद्ध खेलेका नै छन् । बसिर अहमद भने यो विश्वकपमा अवसर नपाउने एक्ला खेलाडी बने ।
नेपाल र स्कटल्यान्ड यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले एक जित निकाल्दा नेपाल भने जितविहीन थियो । समूह ‘सी’बाट यसअघि नै वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरेका थिए ।
यसपटक नेपाल समूहको पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले, दोस्रो खेलमा इटालीसँग १० विकेट तथा पछिल्लो खेलमा वेस्ट इन्डिजसँग नाै विकेटले पराजित भएको थियो । समूह ‘सी’बाट यसअघि नै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरिसकेका छन् ।
नेपालको तर्फबाट पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको साझेदारी गरे । दुई खेलाडी ९.१ ओभरसम्म क्रिजमा टिक्दा तेस्रो क्रममा आएका कप्तान रोहितकुमार पौडेल भने १४ बल खेलेर पेभेलियन फर्किएका थिए । विश्वकपमा पहिलो विकेटका लागि भएको ७४ रनको साझेदारी कीर्तिमानी बन्यो । यसअघि यो कीर्तिमान कुशल र आसिफसँग नै थियो ।
कुशलले ३५ बलमा ४३ रन बनाए । उनले एक चौका र चार छक्का हिर्काएका थिए । आसिफले २७ बलमा ३३ रन जोडेका हुन् । कप्तान रोहितले १४ बलमा १६ रन बनाए । नेपालको सुरुवाती तीनै विकेट माइकल लिक्सले लिएका थिए । दीपेन्द्रले १६औँ ओभरमा एक्लै १९ रन हिर्काएपछि नेपाल लयमा आएको थियो ।
पहिलो इनिङ्समा स्कटल्यान्डका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ४५ बलमा आठ चौका र तीन छक्का हिर्काएका हुन् । यसअघि २८ वर्षीय खेलाडीले ३१ बलमा अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि जर्ज मुन्से र माइकल जोन्सबिच ८० रनको साझेदारी भएको थियो । मुन्सेले २९ बलमा चार चौकासहित २७ रन बनाए ।
पार्टटाइम बलर रोहितले दशौँ ओभरको अन्तिम बलमा विकेटको खाता खोलेका थिए । जर्ज मुन्सेलाई रोहितले लङ अफमा पहिलोपटक अवसर पाएका सन्दीप जोराबाट क्याच गराएका थिए । रिभर्स स्विप हान्ने चक्करमा मुन्से फसेका थिए । नियमित बलरबाट विकेट नझरेपछि यो विश्वकपमा रोहितले पहिलोपटक बलिङ गरेका हुन् ।
ब्रान्डन म्याकमुलेन र जोन्सबिच दोस्रो विकेटका लागि ३२ बलमा ५२ रनको साझेदारी भएको थियो । २५ रन बनाएका म्याकमुलेनलाई सोमपालले तेस्रो विकेटको रूपमा कट एन्ड बोल्ड गरे । यो विश्वकपमा दोस्रोपटक अवसर पाएका सोमपालले दोस्रो खेलमै दुई विकेट लिएका छन् ।
सोमपालले १६औँ ओभरमा लगातार दुई विकेट लिएपछि स्कटल्यान्डको रन बनाउने रफ्तारमा ब्रेक लागेको थियो । यतिवेलासम्म स्कटल्यान्डले खातामा १३३ रन बनाएको थियो ।
कुशल भुर्तेलले चौथो विकेटको रूपमा स्कटल्यान्डका कप्तान रिची वेरिंघटनको विकेट लिए । ६ बलमा १० रन जोडेका रिचीलाई जोराले क्याच गरेका हुन् । पहिलोपटक अवसर पाएका जोराले दोस्रो क्याच लिन सफल भए ।
१७.३ ओभरमा नन्दनले पाँँचौँ विकेटको रूपमा चार रन बनाएका म्याथ्यु क्रसलाई योर्करबलमा बोल्ड गरे । पहिलोपटक विश्वकप खेलिरहेका नन्दनले योसँगै चार विकेट लिएका छन् । उनले इंग्ल्यान्डसँग दुई तथा वेस्ट इन्डिजसँग एक विकेट लिएका थिए ।
१८.४ ओभरमा सोमपालले पाँच रन बनाएका न्युजिल्यान्डका पूर्वखेलाडी टम ब्रुसलाई आउट गरे । उनी सोमपालको स्लो बलमा योर्करको सिकार भए । सोमपालको यो तेस्रो विकेट हो । सातौँ विकेटको रूपमा नन्दनले माइकल लेस्कलाई चार रन बनाउँदा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए । नन्दनको यो विश्वकपकै पाँच विकेट हो । मार्क वाटले अविजित १० रन बनाए ।
बलिङतर्फ सोमपालले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिए । उनी विश्वकपमा सर्वाधिक १० विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । नन्दनले दुई विकेट लिँदा रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने विकेटविहीन भए ।
यसअघि नेपालले सुरुको ओभर नै अफ स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न दिएको थियो । तर, विकेट लिन १० ओभर नै कुर्नुपर्याे । १५.१ ओभरमा नन्दन यादवको बलमा ब्रान्डन म्याकमुलेनले जीवनदान पाए । सन्दीप जोराले हातमै परेको बललाई छाड्दा म्याकमुलेनले अर्काे अवसर पाए भने नेपाल दोस्रो विकेट लिनबाट चुकेको थियो ।
योसँगै नेपालको तेस्रो विश्वकपको सम्पूर्ण खेल सम्पन्न भएको छ । अब, नेपाली खेलाडी बुधबार नै स्वदेश फर्किनेछन् । त्यसपछि जय ट्रफीमा सहभागी हुनेछन् । जय ट्रफीपछि नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछ ।