स्कटल्यान्डले दियो नेपाललाई १७१ रनको लक्ष्य

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

माइकल जोन्सको अर्धशतकको मद्दतमा स्कटल्यान्डले आइसिसी टी २० विश्वकप २०२६ समूह ‘सी’ को अन्तिम खेलमा नेपाललाई एक सय ७१ रनको लक्ष्य दिएको छ । 

मंगलबार वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७० रन बनाएको हो । एक समय २ सय रनको कुल स्कोरतर्फ बढिरहेको स्कटल्यान्डलाई सोमपालले १६औँ ओभरमा लगातार दुई विकेट लिँदै रोकेका थिए । यो विश्वकपमा दोस्रो खेल खेलिरहेका सोमपालले एकैखेलमा सर्वाधिक तीन विकेट लिए । नन्दन यादवले दुई विकेट झारे । 

स्कटल्यान्डको लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काएका हुन् । यसअघि २८ वर्षीय खेलाडीले ३१ बलमा अर्धशतक बनाएका थिए । 

पहिलो विकेटको लागि जर्ज मुन्से र माइकल जोन्सबिच ८० रनको साझेदारी भएको थियो । मुन्सेले २९ बलमा चार चौकासहित २७ रन बनाए । पार्टटाइम बलर रोहितले १०औँ ओभरको अन्तिम बलमा विकेटको खाता खोलेका थिए । जर्ज मुन्सेलाई रोहितले लङ अफमा पहिलोपटक अवसर पाएका सन्दीप जोराबाट क्याच गराएका थिए। रिभर्स स्विप हान्ने चक्करमा मुन्से फसेका थिए । नियमित बलरबाट विकेट नझरेपछि यो विश्वकपमा रोहितले पहिलोपटक बलिङ गरेका हुन्।

म्याकमुलेन र जोन्सबिच दोस्रो विकेटका लागि ३२ बलमा ५२ रनको साझेदारी भएको थियो । २५ रन बनाएका म्याकमुलेनलाई सोमपालले तेस्रो विकेटको रूपमा कट एन्ड बोल्ड गरे । यो विश्वकपमा दोस्रोपटक अवसर पाएका सोमपालले दोस्रो खेलमा दुई विकेट लिएका छन् । सोमपालले १६औँ ओभरमा लगातार दुई विकेट लिएपछि स्कटल्यान्डको रन बनाउने रफतारमा ब्रेक लागेको थियो। 

कुशल भुर्तेलले चौथो विकेटको रूपमा स्कटल्यान्डका कप्तान रिची वेरिंघटनको विकेट लिए । ६ बलमा १० रन जोडेका रिचीलाई जोराले क्याच गरेका हुन्। पहिलोपटक अवसर पाएका जोराले दोस्रो क्याच लिन सफल भए। 

१७.३ ओभरमा नन्दनले पाँँचौँ विकेटको रूपमा ४ रन बनाएका म्याथ्यु क्रसलाई योर्करबलमा बोल्ड गरे । पहिलोपटक विश्वकप खेलिरहेका नन्दनले योसँगै चार विकेट लिएका छन्। उनले इंग्ल्यान्डसँग दुई तथा वेस्ट इन्डिजसँग एक विकेट लिएका थिए। 

१८.४ ओभरमा सोमपालले  ५ रन बनाएका पूर्वन्युजिल्यान्डका खेलाडी टम ब्रुसलाई आउट गरे । उनी सोमपालको स्लो बलमा योर्करको सिकार भए । सोमपालको यो तेस्रो विकेट हो । सातौँ विकेटको रूपमा नन्दनले माइकल लेस्कलाई ४ रन बनाउँदा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए । नन्दनको यो विश्वकपकै पाँच विकेट हो । 

मार्क वाटले अविजित १० रन बनाए । 

सोमपालले तीन तथा नन्दनले दुई विकेट लिँदा रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने विकेटबिहिन भए । 

यसअघि नेपालले सुरुको ओभर नै अफ स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न दिएको थियो । तर, विकेट लिन १० ओभर नै कुर्नप¥यो । १५.१ ओभरमा नन्दन यादवको बलमा ब्रान्डन म्याकमुलेनले जीवनदान पाए । सन्दीप जोराले हातमै परेको बललाई छाड्दा म्याकमुलेनले अर्काे अवसर पाए भने नेपाल दोस्रो विकेट लिनबाट चुकेको थियो । 

आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको हो । यसअघि सबै खेलमा टस सहित खेल नै हारेको थियो । प्रशिक्षक स्टुआर्ट लले सन्दीप जोरालाई पहिलो पटक अवसर दिएका छन् । उनको विश्वकपमा पनि डेब्यु भएको छ । सन्दीपले करण केसीको स्थान लिएका हुन् । अन्य खेलाडी भने यसअघि वेष्ट इन्डिजविरुद्ध खेलेका नै छन् । 

नेपाल र स्कटल्यान्ड यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले एक जित निकाल्दा नेपाल भने जितविहित छ ।

नेपाल अन्तिम खेलमा जित निकाल्दै यसको खडेरी तोड्न चाहन्छ । सन् २०१४ पछि नेपाली टिमले विश्वकपमा जित निकालेको छैन । सन् २०२४ मा पनि नेपाली टिम जितबिहिन भएको थियो। 

यसपटक नेपाल समूहको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले, दोस्रो खेलमा इटालीसँग १० विकेट तथा पछिल्लो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘सी’बाट यसअघि नै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरिसकेका छन्।

सुझावित समाचार