जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे र स्वामित्व नखुलेका ३६ वटा सवारीसाधन लिलाम प्रक्रियामार्फत बिक्री गरेको छ। कानुनी प्रक्रियाअनुसार सार्वजनिक लिलाममार्फत उक्त सवारीसाधन बिक्री गरेको प्रहरीले जनाएको छ।
विभिन्न समयमा प्रहरीले नियन्त्रणमा लिएको ३५ वटा मोटरसाइकल र एउटा स्कुटर गरी ३६ वटा सवारीसाधन सार्वजनिक लिलाममार्फत बिक्री गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले बताए। उक्त सवारीसाधन लिलाम बिक्रीबाट एक लाख ८० हजार ६ सय रुपैयाँ राजस्व रकम संकलन भएको पनि एसपी थापा क्षेत्रीले बताए।
प्रहरीले नियन्त्रणमा लिएपछि लामो समयसम्म सवारीसाधन दाबी गर्न नआएपछि कानुनी रूपमा स्वामित्व नखुलेका सवारीसाधन सम्बन्धित ऐन नियमबमोजिम मूल्यांकन गरी लिलाम गरिएको थियो। सार्वजनिक सूचना प्रकाशन, मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि लिलाम प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ। सोहीअनुसार सवारीसाधनको व्यवस्थापन गरिएको प्रहरीले बताएको छ। सवारीसाधन बिक्रीबाट प्राप्त भएको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा गरिएको पनि एसपी थापा क्षेत्रीले बताए।