कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरको भीमदत्त नगरपालिका जिल्लामै प्रथम भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा भीमदत्त नगरपालिका जिल्लामै प्रथम भएको हो। आयोगले हालै सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार भीमदत्त नगरले जिल्लाका अन्य नाै पालिकाभन्दा बढी अंक प्राप्त गरेर प्रथम स्थान हासिल गरेको छ। भीमदत्तले ६६.६३ अंक प्राप्त गरेको हो।
दोस्रोमा बेदकोट नगरपालिका रहेको छ । बेदकोटले ६५.६७ अंक ल्याएको छ । यसैगरी, तेस्रो शुक्लाफाँटा नगरपालिका ६१.११, चौथो बेलौरी नगरपालिका ५४.४६, पाँचौँ लालझाडी गाउँपालिका ५१.९८, छैटौँ बेलडाँडी गाउँपालिका ४७.४६, सातौँमा दोधाराचाँदनी नगरपालिका ४७.३४, आठौँमा पुनर्वास नगरपालिका ४७.३४ र नवौँमा कृष्णपुर नगरपालिकाले ४२.७० अंक ल्याएका छन्। आयोगले विभिन्न १७ विषयगत सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। जसकै कारण आगामी आर्थिक वर्ष ०८२/०८३ मा बजेट दिइनेछ ।
भीमदत्त नगरका मेयर पदम बोगटीले वित्त आयोगले पालिकाबाट हुने कार्य सम्पादनलाई मूल्यांकन गरेअनुरूप प्राप्त नतिजालाई स्वीकार गर्दै आगामी दिनमा थप बढाउने प्रतिबद्धता जाहेर गरेका छन्। दोस्रो भएकाे बेदकोट नगरका मेयर भोजराज बोहराले सरकारी संस्थामा सुत्केरी गराउने महिलाको सूचकमा बेदकोट नगरका अधिकांश भीमदत्त नगरको महाकाली अस्पतालमा जाने भएकाले कम अंक पाइएको बताए ।