जाजरकोटको भेरी नगरपालिका– १, पिपेमा फेला परेको बमजस्तै देखिने शंकास्पद वस्तु सुरक्षा व्यवस्थापन टोलीले डिस्पोज गरेको छ। उक्त वस्तु भेटिएपछि केही समय स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो। शंकास्पद वस्तु देखेपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई खबर गरेका थिए। त्यसलगत्तै नेपाल प्रहरी, नेपाल आर्मी र शस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मीले क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणलाई सुरक्षित दूरीमा राख्दै वस्तु निष्क्रिय बनाउने काम गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उक्त वस्तु आधिकारिक बम नभएको पुष्टि भएको छ। उनले भने, ‘भेरी नगरपालिका– १, पिपेमा फेला परेको शंकास्पद वस्तु सुरक्षा व्यवस्थापन टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ। जाँचका क्रममा त्यो आधिकारिक बम नभएको खुलेको छ। अहिले अवस्था सामान्य छ र सर्वसाधारणलाई नआत्तिन आग्रह गर्छु।’
उनका अनुसार घटनापछि केही समय सुरक्षाका लागि क्षेत्र खाली गराइएको थियो भने अहिले आवतजावत सामान्य भइसकेको छ। प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।