हेटौँडा उपमहानगरपालिका– १६, चिसापानीस्थित धरान–चतरा सडकखण्डमा मंगलबार बिहान परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पाेजल टोलीले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब सवा पाँच बजे अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले सडकको बिचभागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखेपछि उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
सडक र स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्र तत्काल घेराबन्दी गरी आवतजावत रोकिएको थियो । प्रहरीले नेपाली सेनाको टोलीसँग समन्वय गरी बिहान सवा आठ बजे उक्त शंकास्पद वस्तु डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।
डिस्पोज प्रक्रियापछि अवस्था सामान्य भएको र हाल सो क्षेत्रमा सवारीसाधन सञ्चालन नियमित भएको प्रहरीले जानकारी दिएको छ । यसैबिच, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले मंगलबार आह्वान गरेको नेपाल बन्दकै दिन हेटौँडामा शंकास्पद वस्तु फेला परेकाले सुरक्षा सतर्कता बढाइएको छ । उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।