४२ थरीका ल्याब परीक्षण गर्न भारतकै भर, बन्दैन दलहरूको एजेन्डा

गर्भ खेर जाने समस्यादेखि प्यांक्रियाज, क्यान्सरजन्यलगायत रोग पत्ता लगाउन परीक्षण गरिने आधुनिक ल्याब छैन देशमा

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण
  • कतिपय निजी अस्पतालले देशकै सरकारी अस्पतालमा हुने परीक्षण पनि विदेश पठाउँछन्

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै काम गर्ने सन्तोष सुवेदीले छोरीको रोग पत्ता लगाउन नेपालका सबै ठुला ल्याबहरूमा धाए । अनेकौँ नमुना परीक्षण गराए । तर, यहाँका ल्याबहरूमा उनकी छोरीको स्वास्थ्य समस्या पत्तै लागेन । कैयौँ प्रकारका ल्याब परीक्षण गर्दा पनि समस्या नदेखिएपछि चिकित्सकले उनलाई टोक्जो प्लाज्मा पिसिआर जाँच गर्न पठाए । तर, यो परीक्षण नेपालका निजी र सरकारी कुनै पनि ल्याबमा उपलब्ध छैन ।

देशको सबैभन्दा ठुलो सरकारी प्रयोगशालामा काम गर्ने उनले नै अन्तत: चिकित्सकहरूको सल्लाहअनुसार भारतको ल्याबमा नमुना पठाए । भारतमा परीक्षण गरेपछि रोग पहिचान भएको र समस्या ठुलो नभएको पुष्टि भएपछि ढुक्क भएको अनुभव सुवेदीले सुनाए ।

‘ल्याबमा हामी कहाँ रहेछौँ भन्ने कुरा मलाई आफ्नै छोरी बिरामी परेपछि महसुस भयो । अझै पनि हामीले थुप्रै ल्याब टेस्टहरू भारतमा पठाउँछौँ । त्यहाँ पठाउँदा बिरामीलाई महँगो पर्ने, रिपोर्ट आउन समय लाग्नेलगायत झन्झट त हुन्छ नै,’ उनले भने, ‘कतिपय दुर्लभ टेस्टहरू हुन्छन्, जुन बिरलै गरिन्छ, तर ल्याब किन्न निकै महँगो पर्न सक्छ ।’ छोरीको नमुना परीक्षणमा आफ्नो दुई लाखभन्दा धेरै खर्च भएको सुवेदीले बताए । 

नेपालकै सबैभन्दा ठुलो सरकारी ल्याब कति कमजोर छ भन्ने उदाहरण हो यो । गर्भ खेर जानेदेखि प्यांक्रियाज, क्यान्सरजन्यलगायत विभिन्न रोग पत्ता लगाउन गरिने ४२ प्रकारका परीक्षण नेपालमा हुन सक्दैन । बिरामीले भारतसम्म ल्याब परीक्षण गर्न नमुना पठाउनुपर्ने बाध्यता छ । 

बिरामीसँग शुल्क लिएर नेपालकै सीमित ल्याबले भारतसम्म नमुना पठाउने गर्छन् । त्यस्ता ६ एजेन्ट ल्याबहरूलाई सरकारले स्वीकृति दिएको छ । यो अनुमति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिन्छ । एजिलस डायग्नोस्टिक, डा. लाल प्याथ ल्याब, सम्यक डायग्नोस्टिक, रिलायबल डायग्नोस्टिक, मेडिक्वेस्ट ल्याब्रेटरी क्लिनिक र इन्टरप्रिट नेपालले ल्याब टेस्ट बाहिर पठाउने अनुमति लिएका छन् । यी ल्याबहरूले नेपालमा परीक्षण नहुने नमुनाहरूलाई भारतसम्म पुर्‍याउँछन् र बिरामीलाई रिपोर्ट दिन्छन् । तर, ल्याबहरूले बिरामीसँग मोलमोलाई गरेर महँगो शुल्क लिने गरेको गुनासो आउने गरेका छन् । 

‘मेरी आमाको थाइराइडसम्बन्धी रोग पत्ता लगाउन निकै कठिन भयो । थाइराइडको धेरै प्रकार हुने रहेछ, वीरमा थुप्रै प्रकारका ल्याब टेस्ट गर्दा पनि ठ्याक्कै पत्ता लागेन । चिकित्सकहरू थाइराइड त हो, तर कुन प्रकारको हो भनेर अलमल हुनुभयो । नेपालका ल्याबहरूमा सबैतिर टेस्ट गर्दा पनि पत्ता नलागेपछि चिकित्सकहरूकै सल्लाहअनुसार भारतमा नमुना परीक्षण गर्न पठाएँ । त्यतिमै डेढ लाख खर्च भयो,’ भोजपुरका रोहित राईले भने, ‘थाइराइडसम्बन्धीकै टिएसएच रिसेप्टर एन्टिबोडी टेस्ट नेपालमा नहुने भएकाले भारत पठाएका थियौँ ।’ 

जनस्वास्थ्य प्रयोगशालाका सहप्रमुख तथा मेडिकल ल्याब टेक्नोलोजिस्ट परमानन्द भण्डारीका अनुसार जिन म्युटेसनबाट विकसित हुने रोगसम्बन्धी भाइरस, ब्याक्टेरिया, फंगस, पारासाइटको जिनसम्बन्धी जटिल प्रक्रियाका ल्याब परीक्षण नेपालमा हुँदैनन्, भारतमै पठाउनुपर्छ । ‘हामीले स्वीकृति दिएका ६ वटा ल्याबले नेपालबाट टेस्टहरू बाहिर पठाउँछन्, उनीहरूले बिरामीलाई सिधै रिपोर्ट दिन्छन्,’ उनले भने, ‘तर नेपालमा हुने कुनै पनि टेस्ट बाहिर पठाउन पाइँदैन, यहाँको ल्याबहरूमा ती टेस्ट हुँदैनन् भने बाहिर पठाउन सकिन्छ ।’ 

भण्डारीले हाल नेपालमा निजी र सरकारी गरी एक वर्गका ल्याब संख्या १८ र बी वर्गका ल्याबको संख्या ९६ रहेको बताए । तर, यी ल्याबमा समेत कतिपय टेस्टहरू बाहिर पठाउने गरिन्छ । सबै टेस्ट नेपालमै सम्भव गर्न सरकारले ल्याबमा लगानी गर्नुपर्ने, जनशक्ति तयार पार्नुपर्ने उनको भनाइ छ । नेपालमै ल्याब हुने हो भने त्यसले बिरामीलाई फाइदा पुग्ने उनको भनाइ छ । तर, नयाँ–नयाँ रोग तथा टेस्ट निम्तिरहने भएकोले ल्याब पनि अपडेट गर्नुपर्ने भण्डारी बताउँछन् । 

मुख्य त नेपालबाट क्यान्सर र वंशाणुगतसम्बन्धी रोगको ल्याब परीक्षण भारतमा पठाउने गरिन्छ । तर, यसरी धेरै प्रकारका ल्याब टेस्टका लागि नमुना पठाउँदा एकातर्फ जिन बारिहिने, अर्कोतर्फ कुर्नुपर्ने र बिरामीलाई महँगोसमेत पर्ने गरेको छ । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले नेपालमा पहिलेभन्दा अहिले ल्याबमा थुप्रै उपलब्धि हासिल भए पनि अझै केही टेस्ट विदेशमै पठाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार क्यान्सरका सीमित टेस्ट नेपालमा हुन्छन् भने केही विदेश पठाउने गरिन्छ । नेपालमै त्यस्ता नमुना परीक्षण गर्नका लागि ल्याब किन्दा निकै महँगो पर्ने भएकाले कतिपय ल्याब अझै नेपालमा नभएको डा. शर्माको भनाइ छ । 

‘कतिपय मेसिन यति महँगो हुन्छ कि ल्याब किन्नुभन्दा नमुना पठाउँदा फाइदा हुन्छ, तर विदेशमा नमुना पठाउँदा थुप्रै समस्या आउँछन्,’ उनले भने, ‘समयमा रिपोर्ट नआउने, बिरामीलाई महँगो पर्नेलगायत समस्या हुन्छ, पछिल्लो समय कतिपय निजी अस्पतालहरूको ध्याउन्नै विदेशी ल्याबमा नमुना पठाउनेतिर छ, उनीहरू आफ्नो अस्पतालमा नभएको ल्याब नेपालकै सरकारी अस्पतालमा छ भने पनि यहाँ पठाउँदैनन्, विदेश पठाउँछन् ।’ उनका अनुसार ७ वर्षअघिसम्म नेपालबाट हेपाटाइटिस सी र बीको नमुना पनि भारतमै पठाउने गरिन्थ्यो । तर, अहिले भने यो परीक्षण नेपालमै हुन्छ । 

हाल नेपालका सरकारी अस्पताल तथा जनस्वास्थ्य प्रयोगशालामा नभएको ‘इमिनो हिस्ट्री केमेस्ट्रि टेस्ट’ पनि भारतमा पठाउने गरिन्छ । यो ल्याब टेस्टबाट बिरामीमा कुन प्रकारको क्यान्सर छ भनेर थाहा पाउन सकिन्छ । यसबाहेक अन्य जेनेटिक रोगहरूसँग सम्बन्धित ल्याब टेस्टहरू विदेश पठाउने गरिन्छ । हाल नेपालका सरकारी अस्पताल तथा जनस्वास्थ्य प्रयोगशालामा पनि बच्चा जन्मिँदा नै कुनै रोग लिएर आएको छ कि छैन भनेर परीक्षण गर्ने यन्त्र छैन । यो उपकरण ल्याउने तयारीसमेत भएको डा. शर्माले बताए । यस्ता प्रकारका ल्याब हुने हो भने बच्चामा देखिने कतिपय दीर्घकालीन वा वृद्धि विकासको क्रमका जटिल रोगहरूको छिटो उपचार सम्भव हुन्छ ।

ल्याब टेस्टमा वार्षिक बाहिरिन्छ डेढ करोड 
राष्ट्रिय जस्वास्थ्य प्रयोगशालाका अनुसार ल्याब परीक्षणका लागि नमुना पठाउँदा वार्षिक एक करोड ५० लाख भारत जान्छ । मासिक सबै प्रकारका टेस्ट गरेर १५० वटा नमुना भारतका ल्याबमा पठाउने गरिन्छ । यो आधारमा वार्षिक एक हजार आठ सय नमुना भारतमा पठाउने गरिन्छ । ती ल्याब टेस्टको रिपोर्ट आउन दुई दिनदेखि १५ दिनसम्म समय लाग्छ । कतिपय परीक्षणको रिपोर्ट आउनै समय लाग्छ । नेपालबाट भारत पठाइने ती टेस्टहरू ४२ किसिमका छन् । यी टेस्ट नेपालमा ल्याब नहुँदा भारतमा पठाउनुपरेको हो । सरकारले सबै प्रकारका ल्याब परीक्षण हुने ल्याब उपकरण खरिद नगर्दा बिरामी बिचौलियाको बाटोबाट ल्याब परीक्षण गर्न भारतसम्म पुग्नुपरेको छ । 

यसरी विदेश पठाइन्छ नमुना 
बिरामीलाई कुन प्रकारको ल्याब टेस्ट चाहिएको हो भने डाक्टरको प्रेस्क्रिप्सनको आधारमा दिशा, पिसाब र रगत संकलन गरिन्छ । उक्त नमुनालाई आवश्यक तापक्रममा राखेर सुरक्षित भाँडोमा कुरिअरमार्फत सम्बन्धित ल्याबसम्म पुर्‍याइन्छ । संकलन र पठाउने काम एजेन्टका रूपमा अनुमति लिएका नेपालकै ल्याबहरूले गर्छन् । उनीहरूले बिरामीसँग ल्याब टेस्टको शुल्क एकमुस्ट लिन्छन् । 

भारतमा ल्याब टेस्ट भइसकेपछि उक्त रिपोर्ट अनलाइनमार्फत एजेन्टकहाँ आइपुग्छ । त्यसपछि बिरामीलाई वितरण हुन्छ । सो रिपोर्ट लिएर बिरामी बल्ल चिकित्सककहाँ पुग्छन् । यो प्रक्रिया निकै झन्झटिलो हुने भएकाले बिरामीले निकै दु:ख पाउने गरेका छन् । अझ कतिपय बिरामी जटिल अवस्थामै हुने भएकोले उनीहरूको रिपोर्ट तुरुन्तै चाहिन्छ, तर भारतसम्म नमुना पठाएर रिपोर्ट ल्याउँदा ढिलो भइसकेको हुन्छ । ‘भारतसम्म नमुना पठाएर रिपोर्ट आउँदा बिरामीलाई थप समस्या भइसकेको हुन सक्छ, त्यो निकै झन्झटिलो हुन्छ,’ जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले भने, ‘नेपालमै ल्याब भएको भए निकै सजिलो हुन्थ्यो ।’ उनले सबै प्रकारका ल्याब टेस्ट एउटै ल्याबमा नहुने भन्दै हाल नेपालबाट बाहिर पठाइने नमुनामध्ये ५० प्रतिशत टेस्ट हुने उपकरण सरकारले किनेमा बिरामीलाई राहत हुने बताए । तर, नयाँ–नयाँ रोग र परीक्षण थपिने भएकाले नेपालमा हरेक टेस्टका लागि नयाँ ल्याब खरिद गर्न सम्भव नहुने उनको भनाइ छ ।

नमुनासँगै बाहिरिएको छ नेपालीको जिन 
चिकित्सकहरूका अनुसार नमुनासँगै नेपालीको जिन पनि विदेशी ल्याबमा पुग्दा बिरामीको गोपनीयतासमेत भंग हुन्छ । अझ डरलाग्दो कुरा त विदेशीहरूले नेपालीको रोगको जिन पत्ता लगाएर कतिपय भ्याक्सिनसमेत बनाई नेपाली बिरामीमा ट्रायल गर्दा ज्यानै जाने जोखिमसमेत हुन्छ । यसबाहेक नेपालभन्दा बाहिरको ल्याबमा लैजाँदा नमुनाहरूमा चलखेल हुन सक्ने, नेपालमा कस्ता–कस्ता किसिमका दुर्लभ रोग छन् भनेर विदेशी अनुसन्धान अधिकारीहरूलाई उल्टै सहयोग मिल्ने हुन्छ । 

‘यहाँको नमुना विदेशी ल्याबमा पठाउँदा हाम्रो जिन उनीहरूले थाहा पाउँछन्, त्यसबाट हामीलाई भन्दा उनीहरूलाई फाइदा पुग्छ, बिरामीको जिन त्यसरी विदेशी ल्याबमा पठाउनु राम्रो मानिँदैन,’ वीरका निर्देशक डा. शर्माले भने, ‘अब ल्याब टेस्ट नमुना बाहिर पठाउन कडाइ गर्नुपर्छ, नेपालीको जेनेटिक तथा जिन बाहिरिनु राम्रो हुँदै होइन, यो त नबुझेर हो ।’ अन्य देशले नेपालीको जिन पत्ता लगाउन सक्ने गरी नमुना पठाउनु गलत रहेकाले यसलाई तत्काल रोक्नुपर्ने उनले बताए । 
 

सुझावित समाचार