प्रेरक प्रसंग : समयको सदुपयोग

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

एक समुद्री राज्य थियो । जहाँ अनौठो नियम थियो । त्यहाँ जोकोही पाँच वर्षका लागि राजा बन्न त सक्थ्यो । तर, उसलाई पाँच वर्षपछि एक भयानक जंगलमा छाडिन्थ्यो । जहाँ जंगली जनावर या विषालु जीवको आक्रमणबाट उसले भयानक मृत्युको सिकार हुनुपथ्र्यो । त्यसैले, जोकोही राजा बन्नबाट डराउँथ्यो । जब कोही राजा बन्थ्यो, उसले पाँच वर्षको अवधि खुब मोजमस्तीमा लगाउँथ्यो । तर, पाँच वर्षपछि भने ऊ आलापविलाप गर्दै जंगलको बाटो लाग्थ्यो । 

एकपटक एक बुद्धिमान् मानिस राजा बन्यो । उसले सोच्यो– पाँच वर्ष त यसै बितिहाल्छ । मैले आजैदेखि केही गरिनँ भने पाँच वर्षपछि जंगली जनावरको आहारा बन्ने निश्चित छ । त्यसैले आजै केही सोच्नुपर्छ । त्यहाँको राजा भएकाले उसले जस्तो नियम पनि बनाएर लागू गर्न सक्थ्यो । त्यसैले, उसले पहिलो वर्ष जंगलमा सिकारी पठाएर खतरनाक जंगली जनावरको सिकार गर्न लगायो । दोस्रो वर्ष काठ र दाउरा काट्नेहरूलाई जंगल पठाएर सम्पूर्ण रुख काट्न लगायो । तेस्रो वर्ष उसले किसानलाई पठाएर जंगलमा खेती गर्न लगायो । चौथो वर्ष त्यहाँ घर र महल बने । पाँचौँ वर्ष पूरा हुँदानहुँदै सो जंगल एक सुन्दर सहर बनिसकेको थियो । 

पाँच वर्ष पूरा भएपछि जंगलतिर जाँदा पनि राजा रोइरहेको थिएन । ऊ हाँसीहाँसी बिदा भइरहेको थियो । यसको कारण थियो– जहाँ अरूले मृत्यु देखे तर त्यसबाट जोगिने उपाय खोजेनन् । यो राजाले आफ्नो भविष्यको नयाँ राज्य बनाइसकेको थियो । त्यसैले, ऊ खुसीखुसी नयाँ सहरमा गएर नयाँ राजा बनेर आरामको जिन्दगी बिताउन सुरु गर्यो । त्यसैले, समय छँदै त्यसको सदुपयोग गरौँ, मोजमस्तीमा भुलेर समय खेर फाल्ने गल्ती नगरौँ ।

सुझावित समाचार