राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकार र सुरक्षा निकायलाई आग्रह गरेको छ।
निर्वाचनको सुरक्षा तयारी तथा मानव अधिकार संरक्षणका विषयमा आज आयोजित छलफल कार्यक्रममा नेपाल सरकारअन्तर्गतका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग आयोगले आवश्यक समन्वय र तयारीबारे समीक्षा गरेको हो।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले छलफलका क्रममा निर्वाचन सुरक्षा चुस्त बनाउन र आवश्यक स्रोत–साधनको प्रभावकारी व्यवस्थापन गर्न सुरक्षा निकायलाई आग्रह गरिएको जानकारी दिए।
कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षासहित मानव अधिकार संरक्षणका उपायबारे स्पष्ट जानकारी गराउन सुरक्षा निकायसँग आग्रह गरेका थिए। सुरक्षा निकायका प्रमुखहरूले आवश्यक सामग्री अभावका बाबजुद उच्च मनोबलका साथ निर्वाचन सम्पन्न गराउन तयारी भइरहेको बताएका छन्।