कपिलवस्तु १ मा नेकपाको शक्ति प्रदर्शन

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ यतिवेला विशेष चासोको केन्द्र बनेको छ। नेपाली कम्युनिस्ट पार्टीले तारा चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार कृष्णबहादुर कुँवरको नेतृत्वमा आइतबार र्याली निकाल्दै राजनीतिक शक्ति प्रदर्शन गरेको छ।

बुद्ध रंगशाला, वाणगंगा नगरपालिका– ४ बाट सुरु भएको र्यालीमा क्षेत्र नम्बर १ का विभिन्न स्थानबाट हजारौँ समर्थक सहभागी भएका थिए। र्याली चार नम्बर चोक, गजेहडा, ओदारी, जहदी, पकडी, लबनी र कोरियाचोक हुँदै प्रगतिनगर पुगेर कोणसभामा परिणत भएको थियो।

र्यालीभरि ‘विकास, सेवा र समृद्धिको प्रतीक तारा चिह्न’का नारा गुञ्जिएका थिए। सहभागीहरूले हातमा पार्टीका झन्डा तथा ब्यानरसहित उत्साहपूर्ण सहभागिता जनाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कुँवरले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार आफ्नो प्राथमिकता रहेको बताए। उनले विगतका वर्षमा अधुरा रहेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई तारा चिह्नमा मतदान गर्न आग्रह गरे।

‘अब कपिलवस्तु १ मा परिवर्तनको आवश्यकता छ। जनताको विश्वासलाई सम्मान गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिन्छु,’ उनले भने। कार्यक्रममा पूर्वमन्त्री चक्रपाणि खनाल (बलदेव) ले पनि सम्बोधन गर्दै कुँवर विकासप्रेमी र इमानदार उम्मेदवार भएको दाबी गरे। उनले क्षेत्रको दिगो विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई एकताबद्ध हुन आग्रह गरे।

कपिलवस्तु १ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरूले घरदैलो अभियान, सभा तथा र्यालीमार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन्।

सुझावित समाचार