उदयपुर १ का नेकपा उम्मेदवार चौधरीले सार्वजनिक गरे प्रतिबद्धतापत्र

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बलदेव चौधरीले आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध र परिणाममुखी कार्यक्रम ल्याउने अठोट व्यक्त गरेका छन्।

सोमबार बेल्टार बजारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा चौधरीले विगतका दशकहरूमा विकासका अनेकौँ आश्वासन प्राप्त भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब उदयपुर १ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्र बनाउने लक्ष्य लिएको बताए।

चौधरीले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, स्वरोजगार, विपत् व्यवस्थापन, भूमिहीन समस्या समाधान र सुशासनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रतिबद्धतापत्र प्रस्तुत गरेको दाबी गरेका छन्।

प्रतिबद्धतापत्रमा बेलका नगरपालिकालाई कृषि र पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिकालाई औद्योगिक केन्द्र र त्रियुगा नगरपालिकालाई शैक्षिक तथा सेवा केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले क्षेत्रीय सन्तुलित विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको अपेक्षा छ।

चौधरीले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै मदन भण्डारी राजमार्ग, कोशी करिडोर, स्थानीय सडक र पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति, रिङरोड सम्भाव्यता अध्ययन र सगरमाथा विमानस्थल सञ्चालनजस्ता योजनाहरू अघि सारेका छन्।

कृषि, पर्यटन, स्वास्थ्य र आर्थिक समृद्धिमा जोड
चौधरीले कृषिलाई क्षेत्रीय अर्थतन्त्रको मेरुदण्ड मान्दै लिफ्ट र भूमिगत सिँचाइ आयोजना, केरा, अदुवा, बेसार, अकबरे खुर्सानी र दलहन पकेट क्षेत्र विकास, आधुनिक शीतभण्डार स्थापनाजस्ता योजनाहरू प्रस्तुत गरेका छन्। यसले कृषकको आय बढाउने र ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने उनको भनाइ छ।

उदयपुरको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, होमस्टे सञ्चालनमार्फत स्थानीय युवालाई तालिम र रोजगारी उपलब्ध गराउने योजना पनि प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुधार, प्राविधिक शिक्षा विस्तार, पुस्तकालय स्थापना र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा, एम्बुलेन्स सुविधा र त्रियुगा–बगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गरिने योजनासमेत अघि सारिएको छ।

सुझावित समाचार