नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता : एउटै मञ्चमा चीन, पाकिस्तान, बंगलादेशका राजदूत सहभागी

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको ११औँ संस्करणअन्तर्गत सन् २०२६ को फाइनल खेल तथा समापन समारोह काठमाडौंस्थित पाकिस्तान दूतावासको प्रांगणमा सम्पन्न भएको छ। समारोहमा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत झाङ माओमिङ, बंगलादेशका राजदूत सफिकर रहमान, सार्क सचिवालयका महासचिव गोलाम सरवारसहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी थिए । 

फागुन ७ देखि १५ सम्म सञ्चालन भएको प्रतियोगितामा पाकिस्तान दूतावास टोलीसहित विभिन्न नेपाली क्लबका १२ टोलीहरूको सहभागिता रहेको थियो। सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता नेपाल र पाकिस्तानका युवाबिच क्रिकेटप्रतिको साझा लगावलाई प्रोत्साहन गर्दै प्रतिभा निखार्ने उद्देश्यले हरेक वर्ष सञ्चालन हुँदै आएको नेपालका लागि पाकिस्तानी दूतावासले जनाएको छ।

पाकिस्तानका राजदूत अब्रर एच हाश्मीले क्रिकेटका विजेता टोली, उत्कृष्ट खेलाडी तथा प्रतियोगिताका सहभागीहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरेका थिए । बलुवाटार क्रिकेट एकेडेमीले उपाधि जित्दै ट्रफी र नगद पुरस्कार हात पारेको छ भने पाकिस्तान दूतावास टोली उपविजेता बनेको छ।

समारोहमा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत झाङ माओमिङ, बंगलादेशका राजदूत सफिकर रहमान, सार्क सचिवालयका महासचिव गोलाम सरवारसहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी थिए । यसैगरी क्रिकेट एसाेसिएसनका पदाधिकारी, पाकिस्तान–नेपाल एलुम्नाई नेटवर्क, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ, नेपाल–पाकिस्तान युवा परिषद्का पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, नेपालस्थित पाकिस्तानी समुदाय तथा दूतावासका कर्मचारी र परिवारजनहरू पनि कार्यक्रममा सहभागी थिए । 

प्रतियोगिताको निरन्तरताको सम्मानस्वरूप अघिल्ला संस्करणहरूमा सहभागिता जनाई हाल नेपालका राष्ट्रियस्तरका टोलीमा स्थान बनाउन सफल भएका सातजना नेपाली क्रिकेटरलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले दुई देशबिच युवा सहभागिता र खेलकुद आदान–प्रदान सुदृढ गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए । सन् २०२७ मा आयोजना हुने १२औँ संस्करणमा टोली संख्या बढाएर १६ पुर्याइने उनले घोषणा गरे । दूतावासका राजनीतिक तथा शिक्षा काउन्सिलर इकबाल हैदरले दूतावासले तल्लो तहदेखि क्रिकेट प्रवर्द्धनका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रतियोगिताले नेपालमा उदाउँदा प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

सुझावित समाचार