भिडियो सन्देश जारी गर्दै वर्षमानले भने– राष्ट्रिय स्वाधीनता खतरामा छ, देशको भविष्य सम्झेर मतदान गर्नुस्

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले यतिवेला राष्ट्रिय स्वाधीनता संकटमा परेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनताकाे रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताए । मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवाहरूलाई रोजगारी आवश्यक रहेको उनको भनाइ छ । 

पुनले मतदान गर्नुअघि राष्ट्रको स्वाधीनता र भविष्य, युवाको भविष्य, सहिदहरूको बलिदान र ऐतिहासिक संघर्षहरूलाई स्मरण गर्न अपिल गरेका छन्।  
पुनले विगतदेखि नै सुशासन र समृद्धिका मुद्दामा नेकपाले काम गर्दै आएको दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टी र यसका उम्मेदवारहरूलाई तारा चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।

पार्टीले विगतमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै उनले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेशी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन आफूहरूले भूमिका खेलेको बताए । 

संविधान र कानुनमार्फत सम्पत्तिमा महिलाको अधिकार, राजनीतिक सहभागिता र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पहल गरिएको उल्लेख गरे । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बनेको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको दाबी उनले गरे । ‘देश निर्वाचनमा होमिएको छ । राष्ट्रिय स्वाधीनमा संकटमा छ । देशले सुशासन खोजेको छ, समृद्धि खोजेको छ । युवाहरूलाई रोजगारी आवश्यक छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन  र देशको समृद्धिका लागि विगतदेखि काम गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी र यसका उम्मेदवारहरूलाई आगामी निर्वाचमा तारा चिह्नमा मतदान गरी विजयी गराई आमनेपाली जनताले युवाहरूले आफ्नो राष्ट्रभक्ति, देशभक्ति, स्वाधीनता र सशासनको प्रतिबद्धतालाई व्यक्त गर्नुपर्नेछ,’ पुनले भनेका छन्, ‘त्यसका लागि म आफ्नोतर्फबाट तपाईंहरू सबैलाई मतदानअगाडि राष्ट्रको भविष्यलाई सम्झन, युवाहरूको भविष्य सम्झन, देशको समृद्धि र सुशासन सम्झन र विगतका रक्तरञ्जित इतिहासहरू, हजारौँका दलिदानहरू र हाम्रा पूर्वजहरूले/अग्रजहरूले देशको रक्षाका लागि बगाएका रगतहरू एकपटक सम्झँदै नेपाली कम्युनिस्ट पार्टीले विभिन्न समयमा गरेका सुशासनका कामहरू, समृद्धिका कामहरू, युवाहरूका जागरण ल्याउने कामहरू, त्यसै गरी मजदुर किसानहरूका हकअधिकार र स्वाभिमानपूर्वक आफ्नो खुट्टामा उभिन सक्ने, प्रश्न गर्ने सक्ने स्वाभिमानी नागरिक नेपाली कम्युनिस्ट पार्टीले तयार गर्यो ।’

अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पुनले स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सिर्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताएका छन् । 

पार्टी र नेताहरू कमजोरीरहित नभए पनि विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने उनको भनाइ छ ।
 

सुझावित समाचार