घरजग्गा कारोबारबाट सात महिनामा २७ अर्ब राजस्व

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व ९.१२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार चालू आवको पहिलो सात महिनामा भने २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व उठेको छ । गत आवको पहिलो सात महिनामा भने २४ अर्ब ७१ करोड एक लाख रुपैयाँ राजस्व उठेको थियो । गत आवमा घरजग्गा कारोबारबाट ५३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । घरजग्गा कारोबार गर्दा लाग्ने पुँजीगत लाभकरलगायतका शीर्षकमा सो रकम करबापत संकलन भएको विभागको तथ्यांक छ । 

मुख्यतः मंसिरयता घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढेको छ । सरकारले जग्गा वर्गीकरण गर्न दिएको म्याद गत असारमा सकिएको थियो । तर, त्यसवेला सात सय ५३ मध्ये दुई सय ५३ पालिकामा मात्रै जग्गा वर्गीकरण भएको थियो । पाँच सय पालिकामा जग्गाको वर्गीकरण बाँकी नै थियो । जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट पनि गर्न नपाउने व्यवस्था भएकाले साउनयता घरजग्गा कारोबार प्रभावित भयो । त्यो अवस्थामा सरकारले २५ कात्तिकमा भूउपयोग नियमावलीको तेस्रो संशोधन गर्दै जग्गा वर्गीकरण गर्ने म्याद आगामी असारसम्म पुर्याएको छ । त्यसले जग्गाको कित्ताकाट खुलेसँगै मंसिरयता कारोबार पनि बढेको छ । त्यसले राजस्व बढाएको छ । 
विभागको तथ्यांकअनुसार साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार रुपैयाँ, असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार रुपैयाँ राजस्व उठेको थियो । यसैगरी, मंसिरमा चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार रुपैयाँ, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार रुपैयाँ माघमा पाँच अर्ब ९९ लाख २४ हजार रुपैयाँ राजस्व उठेको विभागको तथ्यांकमा देखिन्छ ।

सात महिनामा दुई लाख  ६५ हजार कारोबार 
समीक्षा अवधिमा घरजग्गा कारोबारको संख्या भने ४.६९ प्रतिशतले घटेको छ । गत आवको पहिलो सात महिनामा दुई लाख ७८ हजार दुई सय ७८ वटा कारोबार भएका थिए । चालू आवको सात महिनामा दुई लाख ६५ हजार दुई सय आठवटा यस्तो कारोबार भएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवमा भने देशभर पाँच लाख ९० हजार पाँच सय ४३ वटा घरजग्गा कारोबार भएका थिए । कारोबार संख्या कम भएपछि जग्गाको मूल्य र मूल्यवृद्धि बढी भएको अवस्थामा राजस्व संकलन बढ्न सक्छ । 

कित्ताकाट रोकिएसँगै गत साउन, भदौ, असोज र कात्तिकमा कारोबार संख्या न्यून थियो । तर, मंसिरयता घरजग्गा कारोबार संख्या उच्च छ । तथ्यांकअनुसार साउनमा ३१ हजार ६ सय २१, भदौमा २७ हजार चार सय ९४, असोजमा २३ हजार तीन सय ५३ र कात्तिकमा २८ हजार तीन सय ८३ घरजग्गा कारोबार भएका थिए । कित्ताकाट खुलेसँगै मंसिरमा ५१ हजार ६ सय ३२, पुसमा ५१ हजार आठ सय ८८ र माघमा ५० हजार आठ सय ३७ कारोबार भएका छन् ।

सुझावित समाचार