नेपाल मजदुर किसान पार्टीले ठुला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने गरी कानुनी व्यवस्था बनाउन निरन्तर संघर्ष गर्ने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारप्रति कठोर नीति लिइने उल्लेख छ ।
घोषणापत्रमा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठुला भ्रष्टाचारीहरूलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरू आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानुन व्यवस्था गराउनेसमेत नेमकिपाको घोषणापत्रमा छ ।
त्यस्तै, देशभक्तहरूको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्ने नेमकिपाको घोषणापत्रमा छ ।
यस्तै, दुर्गम क्षेत्रहरूमा रोपवे, केबुलकार, सुरुङमार्ग, रेगमार्ग, अवलम्बन गर्नुपर्ने, सरकारी कर्मचारीहरूलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा–ब्याज तिर्न पनि ऋण लिने देशघाती कामको विरोध जारी राख्ने घोषणापत्रमा प्रतिबद्धता छ । अध्यक्ष बिजुक्छेले ऐन, कानुनका विषयमा छलफल गर्ने, देशलाई अघि बढाउने नीति लिनेलगायतका विषयमा पार्टीले ध्यान दिने बताए । प्रधानमन्त्री चयन सदनबाट हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामबारे आगामी सदनमा स्पष्ट पार्नुपर्ने बताए ।