उदयपुरको थरूहट रंगशालामा जारी रेड बुल एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत आइतबार भएको खेलमा एपिएफ फुटबल क्लबले कीर्तिमानी प्रदर्शन गर्दै आर.एस. रिसोर्ट एन्ड बिच फुटबल टिमलाई १९–० को विशाल गोलअन्तरले पराजित गरेको छ। यस जितसँगै एपिएफले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।
एपिएफको जितमा स्ट्राइकर रश्मिकुमारी घिसिङले एक्लै १२ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले खेलको २३औँ मिनेटमा गोलको खाता खोलेकी थिइन् भने ८७औँ मिनेटसम्म निरन्तर गोल गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राखिन्। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
खेलको सुरुवाती ७औँ मिनेटमै अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्दै १२ गोल थपेको थियो।
एपिएफका लागि गोल गर्ने खेलाडीहरू
रश्मिकुमारी घिसिङले १२ गोल गरिन्। उनले २३’, ३५’, ४५’, ५१’, ६०’, ६७’, ७७’, ८१’, ८३’, ८५’ र ८७औँ मिनेटमा गोल गरिन्।
अनिता केसीले ७’, ४९’ र ७१औँ मिनेटमा गरी ३ गोल गरिन्।
यसैगरी, सरु लिम्बूले १०औँ मिनेटमा १ गोल, निशा थोकरले १९औँ मिनेटमा १ गोल, गीता रानाले ३१औँ मिनेटमा १ गोल, मनमाया दमाईंले ४८औँ मिनेटमा १ गोल र हिमा रावतले ६८औँ मिनेटमा १ गोल गरिन्।
एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेको रणनीति पूर्ण रूपमा सफल देखियो। विपक्षी टोली आर.एस. रिसोर्टले खेलभरि एपिएफको सशक्त रक्षापंक्ति भेद गर्न सकेन। आर.एस. रिसोर्टका तर्फबाट खेलको उत्तरार्धमा दीपिका राईले केही प्रयास गरे पनि टोलीलाई हारबाट जोगाउन सकिनन्।
प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) आमने-सामने हुनेछन्। एनआरटी यसअघि गाईघाट फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा अघि बढेको टोली हो।
हालसम्म गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब र आर.एस. रिसोर्ट प्रतियोगिताबाट बाहिरिएका छन्। एनआरटी, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र एपिएफ फुटबल क्लब भने अर्को चरणमा प्रवेश गरिसकेका छन्। संकटा फुटबल क्लबले फागुन ५ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ। प्रतियोगिताको विजेताले ७ लाख ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।