स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा साँगुरीगढी गाउँपालिका धनकुटा जिल्लामै प्रथम भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ६६.५२ अंक प्राप्त गर्दै साँगुरीगढी गाउँपालिका जिल्लाका सात स्थानीय तहमध्ये पहिलो स्थानमा उक्लिएको हो।
आयोगका अनुसार ६४.०५ अंकसहित धनकुटा नगरपालिका दोस्रो, ६३.१६ अंकका साथ चौबिसे गाउँपालिका तेस्रो र ६३.१२ अंक प्राप्त गर्दै महालक्ष्मी नगरपालिका चौथो स्थानमा रहेका छन्। त्यसैगरी ५७.९ अंकसहित सहिदभूमि गाउँपालिका पाँचौँ, ४३.५९ अंकका साथ पाख्रीबास नगरपालिका छैटौँ र ३९.६४ अंक प्राप्त गर्दै छथरजोरपाटी गाउँपालिका सातौँ तथा अन्तिम स्थानमा परेका छन्।
धनकुटा जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी जम्मा सात स्थानीय तह रहेका छन्। आयोगले कार्यसम्पादन मूल्यांकनका लागि राजस्व परिचालनको अवस्था, बजेट खर्च प्रगति, बेरुजु व्यवस्थापन, सूचना प्रणाली (सफ्टवेयर) को प्रयोग, शिक्षा तथा स्वास्थ्यसम्बन्धी सामाजिक सूचक, विद्यार्थी भर्ना दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसइई परीक्षा नतिजा तथा खोप लगाइएका बालबालिकाको अनुपातलाई आधार मानेको जनाएको छ।
यसका साथै समयसीमाभित्र बजेट सार्वजनिक तथा पारित गरेको–नगरेको, वित्तीय पारदर्शिता कायम गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट संकलित राजस्वको ४० प्रतिशत हिस्सा प्रदेश सरकारलाई मासिक रूपमा दाखिला गरे–नगरेको, बजेट प्रक्षेपणसहित विवरण मन्त्रालयमा बुझाए–नबुझाएकोलगायतका १७ वटा सूचकका आधारमा मूल्यांकन गरिएको आयोगले जनाएको छ।