कपिलवस्तुका शिव मन्दिरहरूमा दर्शनार्थीको भिड

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा कपिलवस्तुका प्रमुख शिवालयहरूमा आइतबार बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भिड लागेको छ। नदी, कुण्ड र तलाउमा स्नान गरी भगवान् शिवको पूजा–आराधनामा सरिक हुन जिल्लाभित्र तथा बाहिरबाट हजारौँ श्रद्धालुहरू आएका छन् । 

जिल्लाको पश्चिमोत्तर किनारमा अग्लो चुरे पहाडको टाकुरामा अवस्थित शिवगढी मन्दिरमा यस वर्ष विशेष आकर्षण देखिएको छ। महाशिवरात्रिको अवसरमा टाढा–टाढाबाट भक्तजनहरू दुई–तीन दिन अघिदेखि नै आइपुग्ने क्रम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शिवगढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले भने, ‘महाशिवरात्रिका दिन यहाँ दर्शन गर्दा चिताएको इच्छा पूरा हुने जनविश्वास छ । यही आस्थाका कारण कपिलवस्तु मात्र नभई दाङ, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्।’ उनले शिवगढीलाई पौराणिक महत्त्व बोकेको स्थल उल्लेख गर्दै सतिदेवीको जिब्रो खसेको किंवदन्तीका कारण पनि यहाँ विशेष श्रद्धा रहेको बताए ।

त्यस्तै, तीन जिल्ला कपिलवस्तु, दाङ र अर्घाखाँचीको संगमस्थलमा अवस्थित धानखोला मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ । शिवगढी जाने प्रवेशद्वारका रूपमा चिनिने धानखोलामा अन्य वर्षको तुलनामा यस वर्ष बढी भिड देखिएको व्यवस्थापन समितिले जनाएको छ । यहाँ महाशिवरात्रि मेला तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनुका साथै टाढाबाट आएका भक्तजनका लागि भण्डारा व्यवस्थासमेत गरिएको बताएको छ ।

यसैगरी  कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीहरू लामो लाइनमा बसेका छन्। वाणगंगा नदीको रामघाटमा स्नान गरी श्रद्धालुहरू मन्दिरमा जलार्पण गर्न पुगेका छन्। मन्दिरपरिसरमा मुण्डन, कथा–प्रवचन तथा अन्य धार्मिक गतिविधिहरूले थप चहलपहल बढाएको छ।

त्यसैगरी रामदत्तिवल, कपिलधाम, रमवादह, हथौसा, पिपरा, वनगाई वाणगंगालगायतका शिवालयहरूमा पनि दिनभर भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले महाशिवरात्रि पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासन पूर्ण तयारीमा रहेको बताए। भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र व्यवस्थापन गरिएको गौतमले बताएका छन् । 

यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले कुनै अप्रिय घटना नहोस् भनेर शनिबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै  प्रमुख धार्मिक स्थलहरूमा प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको र अहिलेसम्म पर्व शान्तिपूर्ण रूपमा मनाइएको  बताएका छन्  । 

महाशिवरात्रिको अवसरमा कपिलवस्तुका विभिन्न धार्मिक तीर्थस्थलहरूमा हजारौँ  श्रद्धालुहरूले जलार्पण गर्दै पूजा–आराधना गरेका छन्। आस्था, श्रद्धा र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने यो पर्वले जिल्लाभर आध्यात्मिक उत्साह र उल्लास थपेको छ ।
 

सुझावित समाचार