भारतबाट थप सय मेगावाट बिजुली किन्ने टेन्डरमा परेन एउटै आवेदन

पुरानै मूल्यमा नयाँ टेन्डर आह्वान, विद्युत् पाउने अझै अनिश्चित

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

सुक्खा यामको मागलाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई सकस परेको देखिएको छ । फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामा भारतबाट थप एक–एक सय मेगावाट बिजुली किन्न प्राधिकरणले गरेको टेन्डरमा एउटै आवदेन परेन । पहिलोपटक आह्वान गरेको टेन्डरमा कुनै पनि भारतीय कम्पनी बिजुली दिन तयार नभएपछि प्राधिकरणले दोस्रोपटक टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न जनवरी १९ देखि २८ तारिख (४ माघदेखि १४ माघ)सम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । विद्युत्को खरिद दर अधिकतम ६.९० भारु तोकिएको टेन्डरमा कुनै पनि प्रस्ताव परेन ।

त्यसपछि प्राधिकरणले सोही मूल्यमै अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा १००–१०० मेगावाट विद्युत् खरिद गर्न शुक्रबार नयाँ टेन्डर आह्वान गरेको हो । प्रतियुनिट मूल्य ६.९० भारु नकट्ने गरी प्रस्ताव माग गरिएको छ । २४ घण्टा नै विद्युत् खरिद गर्ने गरी प्रस्ताव आह्वान गरिएको छ ।

यसमा भारतका विद्युत् व्यापार कम्पनी सहभागी हुन सक्नेछन् । प्रस्ताव पेस गर्ने अवधि १० फागुन (२२ फेब्रुअरी)सम्म रहेको छ । प्रस्ताव पेस गर्ने कम्पनीले १०० मेगावाट नबढ्ने गरी न्यूनतम २५ मेगावाट र त्यसले भाग जाने परिमाणमा प्रस्ताव पेस गर्नुपर्नेछ । अर्थात्, २५ मेगावाट, ५० मेगावाट, ७५ मेगावाट वा १०० मेगावाट विद्युत् उपलब्ध गराउने गरी प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव पेस गर्ने कम्पनीले ५० लाख भारु धरौटी पनि राख्नुपर्नेछ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले पुरानो टेन्डरमा प्रस्ताव नपरेपछि पुन: नयाँ टेन्डर आह्वान गरेको बताए । ‘अहिले पिटिसी इन्डियाबाट फिक्स रेटमा एक सय ८० मेगावाट विद्युत् आयात भइरहेको छ । त्यहाँको एक्सचेन्ज मार्केटबाट प्रतिस्पर्धी मूल्यमा ६ सय ६४ मेगावाट विद्युत् २४ घण्टा नै खरिद गर्न पाउने अनुमतिको म्याद भने मार्च मसान्तसम्म मात्रै छ । त्यसपछिको समयको हकमा भारतले विगतमा जसरी पिक आवर वा रातिको समयमा विद्युत् नदिने जोखिम पनि छ,’ उनले भने, ‘त्यो अवस्थामा विद्युत् आपूर्ति सहज बनाउन पिक्स रेटमा सम्झौता गरेर २४ घण्टा नै थप विद्युत् ल्याउन खोजेका हौँ ।’ 

प्राधिकरणले महँगो दरमा विद्युत् आयात गर्ने गरी प्रस्ताव आह्वान गरेको छ । तर, त्यही मूल्यमा विद्युत् पाउन पनि चुनौती हुने देखिएको छ । विद्युत्को आन्तरिक व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको प्राधिकरणले बताएको छ । यद्यपि, प्राधिकरणले तोकेकै मूल्यमा बिजुली पाउनसमेत चुनौती रहेको उनले बताए । ‘भारतमा अहिले नै विद्युत् बुकिङ भइसकेको छ । तर, कसैले रद्द गरेका विद्युत् सस्तो मूल्यमै पाइन्छ भन्ने आशा पनि छ,’ उनले भने, ‘भारतले १५–२० प्रतिशत विद्युत् रिजर्भ पनि राखेको हुन्छ । त्यस्तो विद्युत् पनि पाउन सकिने सम्भावना पनि छ ।’

अहिले भइरहेको आयातको म्याद मे र मार्चमा सकिँदै
बर्खामा विद्युत् निर्यात गर्न सक्ने नेपाल सुक्खा याममा भने आयातमै निर्भर हुनुपर्छ । सुक्खा याममा भारतबाट विद्युत् ल्याएर आन्तरिक माग व्यवस्था गरिन्छ । अहिले पनि प्राधिकरणले भारतको पिटिसी इन्डियाबाट स्थिर मूल्यमा एक सय ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । दैनिक २४ घण्टा नै विद्युत् खरिद गर्ने यो सम्झौताको म्याद मेसम्म छ । यसैगरी इन्डियन इनर्जी एक्सजेन्जबाट प्रतिस्पर्धी मूल्यमा ६ सय ५४ मेगावाटसम्म विद्युत् खरिद गर्न पाइन्छ । २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने गरी भारतले दिएको यसको अनुमतिको अवधि भने १७ चैत (३१ मार्च)सम्म छ ।

त्यसपछि भारतले कुन मोडेलमा विद्युत् खरिद गर्न दिन्छ भन्नेमा अन्योल छ । भारतले यसअघि रातिको समय वा पिक आवरमा विद्युत् खरिद गर्न दिने गरेको थिएन । १७ चैतसम्म २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने भए पनि त्यसपछि कुन मोडेलमा स्वीकृति पाइन्छ भन्नेमा अन्योल छ । भारतले २४ घण्टा नै विद्युत् नदिएको अवस्थामा पिटिसी इन्डियाबाट आउने एक सय ८० मेगावाट विद्युत् पर्याप्त हुँदैन । त्यसैले गर्दा प्राधिकरणले अप्रिल र मेमा थप थप १०० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गर्न खोजेको छ । तर, भारतबाट विद्युत् पाउनेमा चुनौती छ ।

भारतमा पनि हिउँदको समयमा विद्युत् उत्पादन कम र माग बढी हुन्छ । त्यसमाथि अप्रिल–मेको समयमा भारतमा पनि विद्युत्को माग धेरै हुन्छ । त्यहाँ उपलब्ध हुने विद्युत् अहिले नै बुकिङ भइसकेको छ । त्यो वेलामा विद्युत् महँगो पनि हुन सक्छ । त्यही कारण अघिल्लो टेन्डरमा आवेदन नपरेको प्राधिकरणको विश्लेषण छ । यद्यपि, छुटपुट, मौज्दात वा रद्द भएको विद्युत् पाउने आशामा प्राधिकरणले पुरानै दरमा नयाँ टेन्डर आह्वान गरेको हो । तर, विद्युत् पाउने सम्भावना अझै पनि न्यून रहेको जानकारवाला बताउँछन् ।

See More On

सुझावित समाचार