वेस्ट इन्डिजलाई हराउनैपर्ने दबाबमा नेपाल

इटालीसँग १० विकेटको हार व्यहोरेको नेपालले तेस्रो खेलमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दै

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
वेस्ट इन्डिजलाई हराउनैपर्ने दबाबमा नेपाल

मुम्बईस्थित वानखेडे रंगशालामा शनिबार प्रशिक्षण गर्दै नेपाली खेलाडी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइसिसी पुरुष टी–२० विश्वकप २०२६

नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एटको आशा जीवितै राख्न आइतबार दुईपटकको विजेता वेस्ट इन्डिजलाई हराउनुपर्ने हुन्छ । नेपालले जितबाहेक रनरेट पनि सुधार्नुपर्ने देखिन्छ । नेपालले उत्कृष्ट फर्ममा रहेको वेस्ट इन्डिजविरुद्ध ब्याटिङ र बलिङमा सानदार प्रदर्शन गर्नुपर्ने दबाबको सामना गर्नुपर्छ । समूह ‘सी’को दोस्रो खेलमा इटालीबाट १० विकेटको नमिठो हारपछि नेपाल संकटमा परेको हो । 

नेपालले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध सनसनी प्रदर्शन गर्दा दोस्रो खेलमा नवप्रवेशी राष्ट्र इटालीलाई सहजै हराउने अपेक्षा राखेको थियो । तर नतिजा नेपालको हकमा नभएर इटालीको पक्षमा गयो । त्यो नतिजा पनि विश्वकप इतिहासै आठौँ दस विकेटको हार सामना नेपालल गर्‍यो । नयाँ दिन र नयाँ खेल भने झै नेपालले दोस्रो खेल विर्सेर वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न तयार छ । 

समग्र टी–२० आईमा नेपाल र वेस्ट इन्डिजबिच दोस्रो भेट हो । यसअघि गत वर्षको असोजमा नेपालले युएईमा भएको टी–२० सिरिजमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक २–१ को जित निकालेको थियो । त्यसवेला वेस्ट इन्डिजले नेपालसँगको सिरिजमा दोस्रो रोजाइका खेलाडी पठाएको थियो । विश्वकपमा भने वेस्ट इन्डिज पहिलो रोजाइको हो । वेस्ट इन्डिज यति बेला ब्याटिङ र बलमा फर्ममा छ । यस्तोमा नेपालले उनीहरूलाई रोक्न गाह्रो देखिन्छ । 

नेपालले वानखेडे रंगशालामा शनिबार राति प्रशिक्षण गर्दा खेलाडीहरू फरक अवस्थामा देखिए । नेपालका पूर्वकप्तान पारस खड्का सबै नतिजा बिर्सेर वेस्ट इन्डिजसँगको खेलमा केन्द्रित हुनुपर्ने बताउँछन् । ‘हामीले लगातार दुई खेल हार्‍यौँ । इटालीसँग सोच्दै नसोचेको नतिजा निस्कियो,’ क्यानका सचिवसमेत रहेको पारसले नयाँ पत्रिकासँग भने, ‘यद्यपि, सुपर ८ को स्थान बनाउन अब कठिन छ, तर बाँकी दुई खेलमै केन्द्रित हुनुपर्छ ।’

नेपालका प्रशिक्षक स्टुआर्ट लले खराब हारमा कसलाई छुट नभएको बताए । उनले इटालीसँग गरेका गल्ती वेस्ट इन्डिजविरुद्ध गर्न नहुने सल्लाह दिएकाछन् । ‘हामीले इटालीविरुद्ध जुन भूल गर्‍यौँ । त्यो माफी दिने किसिमको छैन,’ स्टुवाटले भने, ‘वेस्ट इन्डिजसँग हामीले यसअघि पनि खेलेका हौं । विश्वकपमा उनीहरूको प्रदर्शन राम्रो छ । हामी त्यो खेल जित्नै नै खेल्छौँ ।’ उनले इटालीसँगको हारपछि खेलको विषयमा खेलाडीसँग समीक्षा गरेको बताए । वेस्ट इन्डिजका बलर अकिल हुसैनले नेपाल कमजोर नरहेको बताउँदै सतर्क भएर खेल्ने योजना सुनाए । ‘नेपालसँग हामीले प्रतिस्पर्धा गरिसकेका छौँ । नेपाललाई सामान्य प्रतिद्वन्द्वीका रूपमा लिनु हाम्रो कमजोरी हुनेछ,’ अकिलले भने, ‘हामी विश्वकपमा सबै खेल जित्न आएका छौँ । यो प्रतियोगितामा कुनै पनि राष्ट्र सानो र ठुलो भन्ने हुँदैन । नेपालविरुद्ध पनि जित नै खेल्छौंँ ।’ 

लयमा वेस्ट इन्डिज
वेस्ट इन्डिज दुईपटकको च्याम्पियन हो । पछिल्लो खेलमा वेस्ट इन्डिजले पूर्वविजेता इंग्ल्यान्डविरुद्ध सराहनीय प्रदर्शन गर्‍यो । अहिले वेस्ट इन्डिजले दुई खेलमा दबाबरहित प्रतिस्पर्धा गरिरहेको छ । ओपनिङ कमजोर हुँदा मध्यक्रमका ब्याट्सम्यानले विस्फोटक ब्याटिङ गरेका छन् । वेस्ट इन्डिजका हरेक खेलाडी व्यक्तिगत प्रदर्शनमा अब्बल छन् । बलर वा ब्याट्सम्यान एक्लै खेल जिताउन सक्ने क्षमता राख्छन् । इंग्ल्यान्डविरुद्ध ब्याटिङमा सेर्फान रुथर्फोडले ७६ रन जोड्दै इंग्ल्यान्डलाई चुनौती दिए । स्पिनर गुडाकेस मोटीले तीन विकेट लिएपछि ३० रनले विजयी भयो । वेस्ट इन्डिजले स्कटल्यान्डलाई पहिलो खेलमा ३५ रनले हराएको थियो । 

गत वर्षको सेप्टेम्बरमा नेपालविरुद्ध खेलेका वेस्ट इन्डिजको टोलीमा अकल हुसैन र ज्यासन होल्डरले प्रतिस्पर्धा गरेका थिए । यसैगरी, नेपालको ‘ए’सँग प्रतिस्पर्धा गर्न आएको वेस्ट इन्डिज ‘ए’का कप्तानी रास्टन चेजले गरेका थिए । यी तीनजना खेलाडी नै अहिलेको विश्वकप टोलीमा छन् । 

कप्तान रोहित बिरामी
आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दै छ । शनिबार भएको अभ्यास सत्रमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल अनुपस्थित रहे । उनी बिरामी परेकाले अनुपस्थित भएको नेपालका प्रशिक्षक स्टुअर्ट लले पुष्टि गरेका छन् । प्रशिक्षक स्टुअर्टले वानखेडेमा भने, ‘कप्तान ठिकै छन् । उनलाई हिजो राति ज्वरो आएको थियो र औषधि खाएका छन्, त्यसैले वेस्ट इन्डिजसँगको खेलअघि कप्तान ठिक हुन्छन् होला ।’ कप्तान रोहितले उनले इंग्ल्यान्ड र इटालीविरूद्धको खेल खेलेका थिए । उनले इंग्ल्यान्डविरूद्ध ३९ रन र इटालीविरूद्ध २३ रन बनाएका थिए ।

वेस्ट इन्डिजको प्रदर्शन राम्रो छ : स्टुआर्ट ल, प्रशिक्षक, नेपाल 
हामीले इटालीविरुद्ध जुन भुल गर्‍यौँ । त्यो माफी दिने किसिमको छैन । मैले इटालीसँग १० विकेटले पराजित भएपछि खेलाडीसँग बसेर समीक्षा गरेँ । यसअघि पनि वेस्ट इन्डिजसँग हामीले खेलेका थियौँ । अहिले विश्वकपमा उनीहरूको प्रदर्शन राम्रो छ । हामी त्यो खेल जित्नका लागि खेल्छौँ ।

नेपाललाई सामान्य रूपमा लिन मिल्दैन : अकिल हुसैन, बलर, वेस्ट इन्डिज 
नेपालसँग हामीले पछिल्लो समय पनि खेलेका छौँ । नेपाललाई सामान्य सोच्नु हाम्रो कमजोरी हुनेछ । हामी विश्वकपमा सबै खेल जित्न आएका छौँ । यो प्रतियोगितामा कुनै पनि राष्ट्र सानो र ठुलो भन्ने हुँदैन । नेपालविरुद्ध पनि जित्न नै खेल्छौँ । 

सुझावित समाचार