निर्वासनदेखि ऐतिहासिक जितसम्मको यात्रामा रहमान

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
  • बंगलादेशमा सम्पन्न पछिल्लो आमनिर्वाचनको नतिजाले १७ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएको दुई महिनाभन्दा छोटो समयमै तारिक रहमानलाई प्रधानमन्त्री पदनजिक पुर्याएको छ

१७ वर्ष लामो स्व–निर्वासनपछि लन्डनबाट फर्केको दुई महिनाभन्दा छोटो समयमै तारिक रहमानले बंगलादेशको प्रधानमन्त्री बन्ने तयारीमा छन् । देशको इतिहासको सबैभन्दा महत्वपूर्णमध्ये एक चुनाव जितेपछि उनी पनि आफ्ना आमाबाबुजस्तै देशको नेतृत्वमा पुग्दै छन् । बंगलादेश निर्वाचन आयोगको आधिकारिक राजपत्रमा प्रकाशित नतिजाअनुसार रहमान नेतृत्वमा चुनावमा गएको ‘बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी)’ले दुईतिहाइ मत हासिल गरेको छ । 

चुनावी परिणाम घोषणापछि शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै रहमानले देशवासीलाई एकताबद्ध हुन आह्वान गरे । उनले आफ्नो पार्टीको जितलाई ‘लोकतन्त्रका लागि बलिदान दिने’प्रति समर्पित गरे । ‘मेरो दृढ विश्वास छ, राष्ट्रिय एकताले सामूहिक शक्ति प्रदान गर्छ भने विभाजन कमजोर बनाउँछ,’ रहमानले पत्रकार सम्मेलनका क्रममा भने । 

सन् २०२४ मा जेन–जी उमेर समूहका विद्यार्थी नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री सेख हसिनालाई पदच्युत गरेको डेढ वर्षपछि बंगलादेशमा निर्वाचत भएको हो । यसले महिनौँको अस्थिरतापछि अन्तत: देशमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ । हसिनालाई अनुपस्थितिमै आन्दोलनका क्रममा व्यापक दमन गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । हाल छिमेकी भारतमा निर्वासनमा रहेकी हसिना र रहमानकी आमा खालिदा जियाले लामो समय बंगलादेशी राजनीतिमा प्रभुत्व जमाएका थिए । बंगलादेश स्वतन्त्रता संग्रामका एक अग्रणी व्यक्तित्व रहेका रहमानका पिता भने मारिनुभन्दा अघि सन् १९७७ देखि १९८१ सम्म देशका प्रधानमन्त्री थिए ।

आमनिर्वाचनको परिणामले रहमानको भाग्य बदलिदिएको छ । तत्कालीन सैन्य समर्थित कामचलाउ प्रशासनले भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा रहमान पक्राउ परेका थिए । सन् २००८ मा केही दिन जेलबाट छुट्दा उपचारका लागि भन्दै उनी लन्डन गएका थिए । त्यसपछि उनी १७ वर्ष देश फर्किएनन् । मृदुभाषी ६० वर्षीय रहमान गत वर्ष डिसेम्बर २५ मा आफ्नी मुटुरोग विशेषज्ञ पत्नी र ब्यारिस्टर छोरीसहित देश फर्किएका थिए । भिडले नायकको रूपमा उनको स्वागत गरेको थियो । उनी फर्किएको पाँच दिनपछि उनकी बिरामी आमाको मृत्यु भयो । लगत्तै उनले अध्यक्षको रूपमा पार्टीको कमान्ड सम्हाले ।

चुनावी अभियानका क्रममा रहमानले बंगलादेशलाई कुनै एकल अन्तर्राष्ट्रिय शक्तिसँग धेरै नजिक नबनाई लगानी आकर्षित गर्र्ने वाचा गरेका छन् । जबकि, हसिनाको शासनकालमा ढाका नयाँदिल्लीसँग निकै नजिक थियो । त्यस्तै रहमान नेतृत्वको बिएनपीले विपन्न परिवारका लागि वित्तीय सहायता विस्तार गर्ने, खेलौना तथा छाला उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गरेर कपडा निर्यातमा निर्भरता घटाउने बताएका छन् । त्यस्तै उनले सत्ताको निरंकुश प्रवृत्ति रोक्न एक व्यक्ति दुई कार्यकाल, १० वर्ष मात्र प्रधानमन्त्री हुने व्यवस्थाको पनि समर्थन गरेका थिए । 

ढाकाका राजनीतिक विश्लेषक रेजाउल करिम रोनीले बिएनपीको भारी जितलाई ‘लोकतान्त्रिक, मध्यमार्गी विचार राख्ने शक्तिको विजय’का रूपमा व्याख्या गरे । ‘आगामी चुनौती सुशासन, कानुन र व्यवस्था तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु हुनेछ । सन् २०२४ को जनविद्रोहले उब्जाएका आकांक्षालाई केन्द्रमा राखेर अधिकारमा आधारित राज्य स्थापना गर्नु अर्को चुनौती हुनेछ,’ रोनीले भने । रहमानले अब सरकार चलाउँदा कार्यकर्तामा आधारित राजनीतिबाट हटेर अधिकारमा आधारित प्रणाली स्थानान्तरण हुनुपर्ने रोनीले औँल्याए । यसले मात्र युवा पुस्ताको थप समावेशी शासनको चाहनालाई प्रतिबिम्बित गर्ने उनको ठम्याइ छ । ‘कानुनी शासन, मानवीय मर्यादा र रोजगारीका अवसर सुनिश्चित गर्नु अबको जिम्मेवारी हुनेछ । तारिक रहमानले यो जिम्मेवारी कसरी सामना गर्नेछन् भन्नेमा धेरैको नजर हुनेछ,’ रोनीले भने । 

रहमानको जन्म नोभेम्बर २०, १९६५ मा ढाकामा भएको थियो । उनी आमा खालिदा जिया र पिता जियाउर रहमानका जेठा सन्तान हुन् । उनीभन्दा चार वर्ष कान्छा भाइ भने सन् २०१५ मा हृदयाघातका कारण बिते । ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा भर्ना भएका रहमानले अध्ययन पूरा नगरी कपडा र कृषि उत्पादनको व्यवसायमा हात हालेका थिए । 

लन्डनबाट फर्किएदेखि रहमानले आफूलाई देशको नेतृत्व सम्हाल्न तयार राजनेताको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । यसका लागि उनले आफूलाई विशेषत: सन् २००१–२००६ बिचको बिएनपी शासनकालको उनको पुरानो छाविबाट टाढा राख्ने प्रयास गरिरहे । त्यस अवधिको आमाको शासनमा रहमानले समानान्तर शक्ति केन्द्र चलाएको आरोप लाग्ने गर्थ्यो, जुन आरोप उनी अस्वीकार गर्ने गर्छन् ।

हसिनाको शासनकालमा रहमान भ्रष्टाचारका मुद्दाको केन्द्रीय लक्ष्य बने । उनीमाथि लागेका अधिकांश मुद्दामा उनी अनुपस्थितिमा दोषी ठहर गरिए । सन् २००४ मा हसिनाले सम्बोधन गरिरहेको एक चुनावी र्यालीमा भएको ग्रिनेड आक्रमणका लागि उनलाई सन् २०१८ मा आजीवन कारावासको सजाय पनि सुनाइएको थियो । १३ ग्रिनेड हानिएको र्यालीमा २४ जना मारिएका थिए भने पाँच सयभन्दा बढी घाइते भएका थिए । उनले ती सबै आरोपलाई अस्वीकार गर्दै आएका छन् । आफूमाथि राजनीतिक रूपमा प्रेरित भएर मुद्दा दायर गरिएको उनको दाबी छ । हसिना सत्ताच्युत भएपछि उनीमाथि परेका सबै मुद्दामा उनी निर्दोष सावित भएका छन् ।

लन्डनमा बसेर उनले आफ्नो पार्टीले एकपछि अर्को चुनाव हारेको हेरिरहे । हसिनाको शासनमा उनको पार्टीका अधिकांश शीर्ष नेतालाई जेल हालियो । कार्यकर्ता बेपत्ता पारिए । कैयौँ स्थानका कार्यालय बन्द गरिए । तथापि, आफ्नो फिर्तीपछि रहमानले हसिना र उनका पार्टीप्रति चर्का अभिव्यक्ति दिएका छैनन् । उनले प्राय: भड्काउ बयानबाजीबाट टाढा रहेर संयम र मेलमिलापका लागि आह्वान गर्ने गरेको देखिइरहेका छन् । उनी प्राय: सम्बोधनमा ‘राज्यमा जनताको स्वामित्व’ पुनर्स्थापितगर्ने र संस्थाको पुनर्निर्माण गर्ने कुरा गर्छन् । 

बिएनपीमा रहमानको पकड बलियो देखिन्छ । पार्टीभित्रका व्यक्तिका अनुसार पछिल्लो निर्वाचनका उम्मेदवार छनोट, रणनीति र गठबन्धनसम्मका वार्तामा उनी प्रत्यक्ष संलग्न थिए । 

रहमान वंशवादी राजनीतिको उपज भए पनि आगामी दिनमा उनले लोकतन्त्रको विकासमा काम गर्नुपर्ने हुन्छ । उनी आफैँले पनि यसलाई प्राथमिकता दिने बताएका छन् । ‘लोकतन्त्रको अभ्यास गरेर मात्र हामीले हाम्रो देशलाई समृद्ध र पुनर्निर्माण गर्न सक्छौँ । यदि हामीले लोकतन्त्रको अभ्यास गर्यौं भने हामी जवाफदेहिता स्थापित गर्न सक्छौँ,’ रहमानले एक सम्बोधनमा भने, ‘त्यसैले हामी लोकतन्त्रको अभ्यास गर्न चाहन्छौँ, हामी हाम्रो देशको पुनर्निर्माण गर्न चाहन्छौँ ।’

ढाकामा बसेर पत्रकारिता गर्ने जोनाह हलका अनुसार रहमान देश फर्किएदेखि व्यापक सक्रिय छन् । उनले ‘कानुन र व्यवस्था पुनर्स्थापना, पूर्वाधार र स्वास्थ्य सेवा पुनर्निर्माणबारे धेरै ठुला वाचा’ गरेको सुनियो । ‘उनले चुनावी अभियानमा ठुला वाचा गरेका छन् । विशेषगरी भ्रष्टाचार नियन्त्रणमा कठोर हुने बताएका छन् । जबकि, विगतमा सरकारमा रहँदा उनकै पार्टीलाई गम्भीर भ्रष्टाचारको आरोप लाग्ने गर्थ्यो । यस्तोमा बंगलादेशमा स्वच्छ राजनीतिको नयाँ युग सुरु गर्ने उनको वाचामाथि धेरैको नजर हुनेछ,’ हलले भने ।

सत्ता सम्हाल्न तयारी गर्दै गर्दा रहमान आफैँले पनि आगामी सरकारसामु गम्भीर चुनौती रहेको स्विकारेका छन् । ‘हामीले देशमा लोकतन्त्र स्थापना त गरेका छौँ । तर, अब हामीले हिजोको अधिनायकवादी शासनले कमजोर बनाएर छाडेको अर्थतन्त्र, संवैधानिक तथा संरचनात्मक संस्थालाई सबल बनाउने यात्रा सुरु गर्नु छ,’ रहमानले भने ।

(अलजजिराबाट)

सुझावित समाचार