२५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप : पुलिस सडन डेथको सिकार

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सडन डेथको सिकार हुँदै पहिलो खेलबाटै घर फर्केको छ । सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलको खेलमा आयोजक सहारा क्लबसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताको ६ पटकको विजेता पुलिस जारी संस्करणमा पहिलो खेलमा पराजित हुँदै घर फर्केको हो ।

यसअघि उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० गोलअन्तरले पराजित गर्दै सहाराले अन्तिम आठमा स्थान बनाउँदा पुलिसले भने वाई पाएर अन्तिम आठमा स्थान बनाएको थियो । जितसँगै अन्तिम चारमा स्थान बनाएको सहाराले फाइनल प्रवेशका लागि मनाङमर्स्याङ्दी क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडबिच ४ गते हुने क्वार्टरफाइनल खेलको विजेतासँग फाइनल प्रवेशका लागि ६ गते हुने सेमिफाइनलको खेलमा भिड्नेछ ।

यसअघि खेलमा खेलको ४९औँ मिनेटमा राम बाजीले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस पराजित हुन पुगेको थियो । पहिलो हापमा एक गोलले अग्रता लिएको पुलिसको अग्रता खेलको ६०औँ मिनेटसम्म मात्र रह्यो । खेलको ६१औँ मिनेटमा सहाराका मुकुन्दकुमार निउरेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट समान एक–एक गोल भएपछि थपिएको ३० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा चार–चारको बराबरी भएपछि सडन डेथबाट विजेताको छिनोफानाे भएको हो ।

सडन डेथमा पुलिसका धीरेन्द्र शाहको प्रहारलाई सहाराका गोलकिपर टेकेन्द्र थापाले बचाउ गरेपछि सहारा अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।

१२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १४ लाख एक हजार र उपविजेतालाई सात लाख एक हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउँदा विधागत रूपमा उत्कृष्ट हुने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर, प्रशिक्षकसँगै उदयमान खेलाडी र अनुशासित टिमले जनही २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी हरेक खेलका म्यान अफ दी म्याचले १० हजार र ट्रफी पाउँदा, हरेक खेलका भाग्यशाली दर्शकले पाँच हजार र हरेक म्याचको फ्यान अफ दी म्याचले दुई हजार पाँच सय नगद पाउनेछन् । आइतबारको खेलमा जाउलाखेल र चर्च ब्वाइज भिड्नेछन् ।

सुझावित समाचार