इटालीविरुद्धको खेलपछि नेपाली राट्रिय क्रिकेट टिमका कप्तान रोहित बिरामी
इटालीविरुद्धको खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बिरामी भएका छन्। शनिबार बिहान मुम्बईस्थित बानखेडे रंगशालामा अभ्यास सत्रमा रोहित उपस्थित भएनन्। अभ्यास सत्रपछि बालसाहेव थाकेर पत्रकार कक्षमा बोल्दै प्रशिक्षक स्टुआर्ट लले रोहितलाई ज्वरो आएको जानकारी गराए। उनले भने, ‘शुक्रबारबाट रोहितलाई ज्वरो आएकाले अभ्यासमा उपलब्ध भएनन्।’
कांग्रेस मधेशको अंग हो : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशमा कांग्रेस आगन्तुक नभई कांग्रेस मधेशको अंग भएको बताएका छन्। शनिबार सर्लाहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको जरा मधेशमै भएको उल्लेख गरे। कांग्रेस मधेशमा जमेर आउनुपर्छ भनेर आफूले सर्लाहीबाट उम्मेदवारी दिएको उनको भनाइ छ।
६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा १ करोड ८२ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिसकिएको छ। शुक्रबारसम्म ६३ जिल्लाको काम सकिएको थियो भने आज थप तीन जिल्लाको छपाइ पूरा भएको हो। अब काठमाडौं उपत्यकाआसपासका ११ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी रहेको बताइएको छ। आयोगले आगामी दुई दिनभित्र सम्पूर्ण छपाइ सक्ने अनुमान गरेको छ।
छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू प्याकिङसमेत गरिसकिएको छ। अहिलेसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको जानकारी दिइएको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा शनिबार सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिए ।
वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने राप्रपाको लक्ष्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प-पत्र’ पढेर सुनाए।
राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धनको निम्ति राष्ट्रिय सुरक्षा मूल नीति बनाएको छ। त्यस्तै, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य राखेको राप्रपाले सबै धर्मबिच समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गर्ने घोषणा-पत्रमा उल्लेख गरेको छ।
सामुदायिक विद्यालयहरूमा बाबा उपसमूह गठन
काठमाडौं महानगरपालिकाको स्वर्णिम योजना सुन्दर विद्यालयअन्तर्गत विद्यालयहरूलाई स्वच्छ, सफा हरियाली बनाउन तथा बालबालिकाहरूमा सरसफाइ संस्कार र व्यावहारिक ज्ञान प्रदान गर्न सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडेअन्तर्गत बालबालिका र वातावरण (बाबा) उपसमूह गठन गरिएकाे छ। समूहलाई नेतृत्व निर्देशन गर्न फोकल शिक्षकसमेत तोकिएको महानगरले जनाएको छ।
सिराहामा दुई पूर्वसांसदसहित पाँच दर्जनले छोडे एमाले
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सिराहामा दुई पूर्वसांसदसहित पार्टी र जनवर्गीय संगठनको स्थानीय नेतृत्वमा रहेका पाँच दर्जनभन्दा बढी नेता-कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सिराहाको गोलबजारमा शनिबार अपराह्न पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।
एमाले नेतृ तथा निवर्तमान संघीय सांसद सम्झना थपलिया, पूर्वसांसद जानकीदेवी राम, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फुलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिराहाका अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार- ९ वडा कमिटी सदस्य वीरेन्द्रकुमार सिंहले पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती
चालू आर्थिक वर्ष ०८२/८३ को अर्धवार्षिक समीक्षासम्म लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ।
महालेखा नियन्त्रक कार्यालयले माघ २७ गते परिपत्र जारी गर्दै तेस्रो किस्ताबापतको अनुदान घटाएर निकासा गर्न निर्देशन दिएको हो। पुस मसान्तसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र राजस्व उठेकाले सोही अनुपातमा अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको जनाएको छ।
सुनकोशीमा बेलिब्रिज बनेपछि पश्चिमी रामेछापमा आवतजावतमा सहज
गत वर्षको असोजमा सुनकोशी नदीमा आएको बाढी बगाएको सुनकोशी नदीको पुल बगाएपछि उक्त स्थानमा हाल अस्थायी रूपमा बेलिब्रिज निर्माण भएपछि रामेछापको पश्चिमी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ।
सिन्धुली र रामेछापको सिमाना भएर बहने सुनकोशी नदीले खैरेनीघाटमा रहेको मोटरेबल पुल बाढीले बगाएपछि रामेछापतर्फका पश्चिमी भेगका नागरिकहरूको बिपी राजमार्गसँग सिधा कनेक्सन टुटेको थियो। खैरेनीघाटको पुल नभएपछि वैकल्पिक रूपमा रामेछापका नागरिकहरू काभ्रे र रामेछाप जोड्ने सिन्धुरेटारको पुल तरेर राजधानी जानुपर्ने बाध्यता रहेको थियो भने केही नागरिकहरू खाँडादेवी गाउँपालिकाको भिरपानीस्थित सित्खा पुल तरेर जान बाध्य थिए।
राष्ट्रपति रनिङ सिल्डकाे उपाधि खाँदबारीका हिमालय माविले जित्याे
संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा आयोजित स्थानीय तहस्तरीय 'राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताकाे उपाधि हिमालय माध्यमिक विद्यालयले जितेकाे छ ।
उक्त प्रतियोगितामा खाँदबारीका हिमालय माध्यमिक विद्यालयले २२ स्वर्ण, १५ रजत र १० कांस्य पदक जित्दै प्रथम स्थान हासिल गरेकाे हाे भने १८ स्वर्ण, १२ रजत र ११ कांस्य पदकसहित तुम्लिङटारका मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय दाेस्राे भएकाे खाँदबारी नगरपालिकाका शिक्षा शाखाका हिम भट्टराईले बताए । उनका अनुसार प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र १५ कांस्य पदकसहित खाँदबारीका सूर्य आवासीय माध्यमिक विद्यालय तेस्रो भएकाे छ।