६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा १ करोड ८२ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिसकिएको छ। शुक्रबारसम्म ६३ जिल्लाको काम सकिएको थियो भने आज थप तीन जिल्लाको छपाइ पूरा भएको हो। अब काठमाडौं उपत्यकाआसपासका ११ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी रहेको बताइएको छ। आयोगले आगामी दुई दिनभित्र सम्पूर्ण छपाइ सक्ने अनुमान गरेको छ।

छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू प्याकिङसमेत गरिसकिएको छ। अहिलेसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको जानकारी दिइएको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणालीअन्तर्गतका मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि छाप्न थालिएको हो। प्रारम्भिक चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ।

समानुपातिक प्रणालीतर्फ पुस २६ गतेबाट छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ। यसअन्तर्गतको छपाइ माघ १६ गते बिहानदेखि सुरु गरिएको हो।

यसैबिच, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको छ। आज सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ।

सुझावित समाचार