सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

महाशिवरात्रि तथा २६३औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेतले जितेका छन्। नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ रणभीम गणका ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी बस्नेत उपाधि जितेका हुन् 

महिला-पुरुष दुवैमा पाँच किलोमिटर दूरीको दौड प्रतियोगिताको पुरुषतर्फ मुडे ब्यारेकका लेखराज पुनमगर द्वितीय, सागर नेपाली तृतीय र केपिलासगढी गाउँपालिका–३, बास्पानीका सूर्यराज राई सान्त्वना भएका छन्। महिलातर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेककी पुष्पा अवस्थी द्वितीय, अस्मिता महतो तृतीय र दिक्तेल इंग्लिस बोर्डिङ स्कुलकी छात्रा मन्दिरा थापा सान्त्वना भएकी हुन्।

पुरुष तथा महिलातर्फ दुवै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने धावकहरूलाई क्रमशः नगद रु. पाँच हजार, रु. तीन हजार, रु. दुई हजार र रु. एक हजारको मेडल प्रदान गरिएको छ। प्रतियोगिताका विजेता धावकहरूलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले पुरस्कार वितरण गरेका हुन्। 

यसैबिच, सबैभन्दा कम उमेरमा सहभागी भएर निर्धारित दूरीको दौड पूरा गरेकी हिल साइड एकेडेमी दिक्तेलमा अध्ययनरत छात्रा १२ वर्षीया रोशिका दाहाललाई सम्मान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ १५१ जना र महिलातर्फ ५४ जनाको सहभागिता रहेको थियो। 

दिक्तेल बजारको रत्नपार्कस्थित किराँतचोकबाट सुरु गरिएको दौड प्रतियोगिता अल्छेढुंगा हुँदै भालुखोला पुगेर पुनः फर्किएपछि रत्नपार्कबाट मानव अधिकार चोक हुँदै माटिकोरे खेलमैदानमा पुगेर टुंग्याइएको थियो। रणभीम गण मुडे ब्यारेकले गत वर्षको महाशिवरात्रि तथा सेना दिवसमा पनि सर्वसाधारणलाई सहभागी गराएर ‘रन फर फन’ दौड प्रतियोगिता आयोजना गरेको थियो। 

सुझावित समाचार