राइजिङ स्टार्स महिला एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित

शुक्रबार भएको प्रतियोगिताकै पहिलो खेलमा नेपालको ब्याटिङ र बलिङ कमजोर

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसोसिएट राष्ट्रको स्तर वृद्धि गर्न शुक्रबारदेखि थाइल्यान्डमा राइजिङ स्टार्स महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता सुरु गरेको छ । यसमा भारत, पाकिस्तान, श्रीलंका र पाकिस्तानका ‘ए’ टोली र एसोसिएट राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग भिड्दा नेपालले ३० रनको हार सामना गरेको छ । 

बैंककमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १३७ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा ६ विकेटको नोक्सानीमा १०७ रन बनायो । नेपालको कप्तानी पूजा महतोले गरेकी थिइन् । नियमित कप्तान इन्दु बर्मा घाइते भएपछि पूजाले नेतृत्व गरेकी हुन् । 

दुई साताअघि नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागिता जनाएको थियो । नेपाल समूह चरणबाटै बाहिरिएको थियो । ग्लोबल छनोटको अनुभव बटुलेर थाइल्यान्डमा पुग्दा कमजोर नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गर्यो । 

रावलको सर्वाधिक ३९ रन
नेपालको ब्याटिङमा ओपनर विन्दु रावलले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ४५ बलको सामना गरी आठ चौका प्रहार गरिन् । इनिङ्सको १०.५ ओभरमा रावलले आफ्नो विकेट गुमाउँदा नेपाल ६२–२ को स्थितिमा थियो । रावलको विकेटपछि नेपालको रनरेट पनि कमजोर बन्यो । नेपालले ६२ देखि ६९ रनको अन्तरमा पाँच महत्वपूर्ण विकेट गुमाएको थियो । कप्तान पूजा, कविता जोशी, रुवि पोदार र पूर्वकप्तान रुविना क्षेत्रीको विकेट गुमाउँदा नेपाल लक्ष्यनजिकसम्म पुग्न सकेन । 

पूजाले १६ बलमा ११ रन बनाइन् । कविता सामना गरेको तेस्रो बलमै एलबिडब्लू भइन् । रुविले ३ रन तथा रुविनाले २ रन जोडे । त्यसपछि सीता रानामगर र कविता कुँवरले सातौँ विकेटका लागि ३८ रनको साझेदारी गरे । कुँवरले २० बलमा १८ रन बनाइन् । सीताले २२ बलमा १९ रन बनाउन दुई चौका प्रहार गरिन् । 

बलिङमा पाकिस्तानकी अनोस नासिरले २० रन खर्चेर तीन विकेट लिइन् । अब नेपालले दोस्रो खेलमा आइतबार भारत ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई छन् । समूह ‘बी’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली बलरले दिए अतिरिक्त २० रन
अनुभवी खेलाडीले भरिएको पाकिस्तानविरुद्ध नेपाली बलरले कसिलो बलिङ गर्न सकेनन् । कविता कुँवरले दुई ओभरमा १० रन खर्चेर दुई विकेट हात पारेकी थिइन् । मनीषा उपाध्याय, रिया शर्मा, सीता र रुविनाले समान एक विकेट लिए । पूर्वकप्तान रुविनाले एक विकेट लिन ३६ रन खर्चेकी थिइन् । नेपालले पाकिस्तानको दुई विकेट १९ रन भित्र लिएको थियो । 

नेपाली महिला बलरले पाकिस्तानलाई २० अतिरिक्त रन दिएका थिए । यसमा १८ वाइड थियो । तर, कप्तान हस्फा खालिदले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४० रनको योगदान दिँदा पाकिस्ताको ब्याटिङ इनिङ्स सम्हालिएको थियो । वाहिद अख्तरले १५ बलमा पाँच चौका प्रहार गरी २३ रन बनाइन् । हुरेना सजादले १७ रन बनाइन् ।

सुझावित समाचार