सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

मेड इन इटली लेखेको पेस्तोल र त्यसको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत– ४ बस्ने ३६ वर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका– ३ जमुवास्थित सीमानाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेसले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक सय ग्राम, नेपाली रुपैयाँ सात हजार पाँच र भारतीय रुपैयाँ नाै हजार ३८० र मोटरसाइकल समेत बरामद भएको छ । नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सीमानाकामा कडाइ गर्न डिआइजी थापाको निर्देशन 
निर्वाचनलाई लक्षित गर्दै सीमानाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनीष थापाले निर्देशन दिएका छन्।

उनको निर्देशनसँगै नाकामा चेकजाँचलाई तीव्रता दिइएकोमा भारतीय युवक पेस्तोलसहित पक्राउ परेका हुन्। डिआइजी थापाले इलाम, झापा, मोरङ  र सुनसरी जिल्लाका सीमानाकाको स्थलगत अनुगमन गर्दै सीमाबाट हुने अवैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाई निर्देशन दिएका छन्। 

सुझावित समाचार