‘बिन’ परियोजनाअन्तर्गत ४० पालिकाले बनाए ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी नीति

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

नेपालको ऊर्जा दक्षता, न्यून–कार्बन तथा जलवायु–उपयुक्त भवन निर्माण प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको चारवर्षे ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बिन) परियोजना सम्पन्न भएको छ। युरोपेली संघअन्तर्गतको स्विच एसिया अनुदानको परियोजना बुधबार काठमाडौंमा औपचारिक कार्यक्रम गरेर सम्पन्न गरिएको हो।

अस्ट्रियाको युनिभर्सिटी अफ इन्सब्रुकको नेतृत्वमा नेपालका मिनर्जी प्रालि, भारतको ग्रिनटेक नलेज सोलुसन्स प्रालि र स्पेनको एसोसियासियोन एस्पान्योला दे नोर्मालिसासियोनको सहकार्यमा सञ्चालन भएको परियोजना बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ६० स्थानीय तहमा कार्यान्वयन गरिएको छ।

यस अवधिमा परियोजनाले सूक्ष्म, साना तथा मध्यम उद्यम (एमएसएमई)लाई तालिम र सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ। यसैगरी, निष्क्रिय शीतलीकरण (प्यासिभ कुलिङ) र हलो बिक्रिसजस्ता नवीन प्रविधिको प्रवर्द्धन, नीतिगत संवादमा सहयोग तथा ऊर्जा–दक्ष भवनका बहुआयामिक फाइदाबारे जनचेतना अभिवृद्धि गरेको बताइएको छ।

परियोजनाअन्तर्गत यस अवधिमा ४० स्थानीय तहले ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी उपनियम वा कार्यविधिहरू स्वीकृत गरेका छन्। साथै, राष्ट्रियस्तरका तीनवटा र प्रदेशस्तरको एउटा नीतिगत दस्ताबेज तयार पारिएको छ। भवन निर्माण क्षेत्रमा आबद्ध ९६१ साना तथा मझौला उद्यमहरूलाई ऊर्जा दक्ष डिजाइन, सामग्री उत्पादन र प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको छ।

यसैगरी २६४ वटा ऊर्जा दक्ष भवनहरूको डिजाइन तथा निर्माण सम्पन्न गरिएको छ। यी भवनहरूमा गरिएको अध्ययनले भित्री तापक्रममा नाै डिग्री सेल्सियससम्मको भिन्नता र ८८ प्रतिशतसम्म ‘डिसकम्फर्ट आवर’ (असहज समय)मा कमी आएको देखाएको छ। यस अवधिमा दुई बैंकले हरित आवास कर्जा योजनामा १.७ मिलियन युरो कर्जा प्रवाह गरेको पनि देखिएको छ। यसैगरी आवास निर्माणका लागि आवश्यक सेवा दिन ‘बिन कनेक्ट’ मोबाइल एप सञ्चालनमा ल्याइएको बताइएको छ।

कार्यक्रममा भवन क्षेत्रमा ऊर्जा दक्षता ल्याउन सहयोग पुग्ने गरी तीन दस्ताबेज सार्वजनिक गरिएको छ। ऊर्जा–दक्ष भवन डिजाइन मार्गदर्शन (संशोधित संस्करण), एचभिएसी प्रणाली डिजाइन मार्गदर्शन र भवन ऊर्जा दक्षता अनुपालन टुलकिट सार्वजनिक गरिएको हो।
 

सुझावित समाचार