बस दुर्घटनापछि मृतकका परिवार, व्यवसायी र प्रशासनबिच भएको सहमतिविपरीत मृतकका आफन्तले शुक्रबार पूर्वअरनिको यातायात सेवा समितिका यात्रुवाहक बस जिल्लाको दुई स्थानमा रोकेका छन्।
मंगलबार दिउँसो भएको दुर्घटनापछि बुधबार मध्यराति पीडित पक्ष, व्यवसायी र प्रशासनबिच सहमति भएको थियो। तर, सहमतिविपरीत मृतकका आफन्तहरूले आज काठमाडौंबाट लिखु तामाकोशी गाउँपालिका– ७ तिल्पुङ हुँदै ओखलढुंगाको खिजी फलाँटेका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७६ र ओखलढुंगाबाट यात्रु लिएर काठमाडाैंका लागि छुटेको ०१–००६ ख ०६३५ नम्बरको यात्रुवाहक बसलाई लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङको आरुबाेटेमा रोकेका हुन्।
उक्त बसका करिब ५० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन्। मृतकका परिवारले गाडी रोकेर कुट्न खोजेपछि ३८७६ नम्बरका गाडीका सहचालक भागेर सोही वडाको हलेदे भन्ने स्थानमा आएर लुकेर बसेका बताइएको छ। गाडीभित्रै रहेका चालक श्यामकुमार श्रेष्ठलाई स्थानीयले कुटपटि गरेको भनिए पनि कुनै पनि गाडीका चालक र सहचालकलाई कुटपिट नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजनप्रसाद तिम्सिनाले जानकारी दिए।
त्यसैगरी आज बिहान काठमाडौंबाट यात्रु लिएर रामेछापको मन्थलीतर्फ आउँदै गरेका सोही कम्पनीका अन्य तीनवटा यात्रुवाहक बस पनि बस दुर्घटनास्थल रामेछापको मन्थली नगरपालिका– ६, भलुवाजोरको लिलौती भन्ने स्थानमा मृतकका आफन्तले रोकेका छन्। दुर्घटनास्थलमा हराएका आफन्तको खोजीमा गएकाहरूले ती बस रोकेका हुन्।
अहिले दुवै घटनास्थलमा सुरक्षाकर्मी पुगेर गाडी र यात्रुको सुरक्षा गरिरहेका छन्। बुधबार मध्यराति प्रशासनमा भएको सम्झौतापछि गाडी नियमित सञ्चालन गर्ने सहमति भएको थियो। सहमतिमा अवरुद्ध सडक सञ्चालन गर्ने, मृतकको शव बुझ्ने, कानुनबमोजिम दिइने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने उल्लेख छ।
सहमतिपछि पनि यात्रु लिएर हिँडेका बस रोकिएपछि पूर्वअरनिको यातायात सेवा समिति भक्तपुरले शुक्रबार अपराह्न सूचना जारी गरी खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण क्युका बसहरू सुरक्षा जोखिमका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ।
उक्त कम्पनीबाट सो रुट हुँदै दैनिक झन्डै ७५ भन्दा बढी यात्रुवाहक बस सञ्चालन हुँदै आएको मन्थली काउन्टर प्रमुख सुवास फुयाँलले जानकारी दिए। मंगलबार बिहान मन्थली नगरपालिका– ६ स्थित लिलौती भन्ने स्थानमा काठमाडौंबाट ओखलढुंगाको पोल्थलीका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो। त्यस्तै, सो घटनामा परी अझै तीनजना बेपत्ता छन् भने आठजना घाइते भएका थिए।