कोमात्सुका सामान अब धनगढीमै उपलब्ध

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

एक्स्काभेटरलगायत गाडी उत्पादको ख्यातिप्राप्त कम्पनी कोमात्सुका ‘स्पेयर पार्टस्’ तथा सेवा अब धनगढीमै उपलब्ध हुने भएको छ। नेपालमा जापानिज कम्पनी कोमात्सुका गाडीको आधिकारिक विक्रेता कन्टिनेन्टल टेड्रिङ इन्टरप्राइजेज प्रालिअन्तर्गत कोमात्सुको आधिकारिक ‘स्पेयर पार्टस् आउटलेट’ धनगढी उपमहानगरपालिकाको मोहनपुरमा शुक्रबारबाट सञ्चालनमा आएको छ ।

सर्भिस तथा स्पेयर पार्टसकाे सेवा दिने गरी डाइनामिक हेभी इक्युपमेन्ट प्रालिले आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। नेपाल निर्माण व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण स्वाँर र हेभी इक्युपमेन्ट व्यवसायी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण साउदले संयुक्त रूपमा शाखाको उद्घाटन गरे। सुदूरपश्चिम क्षेत्रका ग्राहकलाई लक्षित गर्दै धनगढीमा स्पेयर पार्टस् बिक्री केन्द्र स्थापना गरिएको हो। यस केन्द्रबाट कोमात्सु मेसिनका असली स्पेयर पार्टस् सहज र छिटो उपलब्ध गराइने कम्पनीले जनाएको छ । कार्यक्रममा हेभी इक्युपमेन्ट प्रालिका अध्यक्ष सूर्यबहादुर थापाले यहाँका व्यवसायीको मागअनुसार शाखा सञ्चालनमा ल्याइएको बताए ।

यसअघि कोमात्सुका गाडीको गुणस्तरीय सामानका लागि नेपालगन्जलगायत ठाउँ पुग्नुपर्ने बाध्यता रहेकोमा अब यहीँ उपलब्ध हुने बताइएको छ। अध्यक्ष थापाले ०७३ सालदेखि कन्टिनेन्टल ग्रुपसँग सहकार्य गरेर कोमात्सका गुणस्तरीय सामानहरू र सेवा आफ्नो कम्पनीले उपलब्ध गराइरहेको बताए। सुदूरपश्चिमका व्यवसायीको मागअनुसारनै ‘स्पेयर पार्टस्’ र सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले मर्मतलगायत ‘सर्भिस’लाई छिट्टै विस्तार गरिने बताए। उनले डाइनामिक हेभी इक्युपमेन्ट प्रालिले कोमात्सुको गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको जानकारी दिँदै गुणस्तरीय सामान मात्र प्रयोग गर्न व्यवसायीलाई आग्रह गरे।

 कन्टिनेन्टल टेड्रिङ इन्टरप्राइजेज प्रालिका निर्देशक टंक भट्टले सुदूरपश्चिममै सर्भिस र सामानको सेवाले व्यवसायीलाई सहज हुने बताए । ‘गाडी पाइए पनि सर्भिस र सामान नपाइने अवस्था थियो,’ उनले भने, ‘अब गाडी र सर्भिस, स्पेयर पार्टसलाई छुट्टै राखेका छाैँ । अब व्यवसायीलाई सहज हुने विश्वास लिएका छौँ ।’ सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष स्वाँरले कोमात्सुका गाडीको गुणस्तरीय सामान र सर्भिस सुदूरपश्चिममै उपलब्ध भएपछि सामान र सर्भिसका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए ।  
     
 

सुझावित समाचार